रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई राजनीतिक दलको भातृ संगठनको रुपमा सञ्च्ँँलन गर्न नहुनेमा सरोकारवालाले चासो राखेका छन् । पोखरामा शनिबार बसेको प्रतिष्ठान सल्लाहकार परिषदको बैठकमा सदस्यहरुले यसलाई बृहत परिधिमा लैजानुपर्ने सुझाव दिए ।
प्रतिष्ठान सल्लाहकार एवंम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानलाई पार्टीको भातृ संस्था जस्तो गरी सञ्चालन गर्न नहुने बताए । प्रतिष्ठानलाई आर्थिक, समाजिक र राजनितिक क्षेत्रमा निश्चित कार्यक्षेत्र तोकेर अगाडि बढ्न उनले सुझाव दिए । ‘कहिलेकाँही कम्युनिस्ट राजनीतिको बारेमा अन्तक्र्रिया गर्ने होला, कहिले युवालाई स्वरोजगारमूलक तालिम दिनुपर्ने होला,’ उनले भने, ‘तर हिजोको गुट चलाएजस्तो रवीन्द्र प्रतिष्ठान चलाउनु हँुदैन ।’
प्रतिष्ठान सल्लाहकार एवंम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रतिष्ठानले तत्काल गर्ने कामभन्दा भविष्य कस्तो हुन्छ, त्यो महत्वपूर्ण हुने बताए । नेकपा स्थायी समिति सदस्य सोमनाथ प्यासीले वैचारिक क्षेत्र प्रतिष्ठानको मुख्य क्षेत्र हुनुपर्नेमा जोड दिए ।
सांसद खगराज अधिकारीले प्रतिष्ठान पूर्णतया पार्टीको अधिनमा हुनुपर्ने बताए । उनले स्वर्गीय अधिकारीले पार्टीमै जीवन समर्पण गरेकाले पार्टीभन्दा बाहिर रहेको प्रतिष्ठान कल्पना गर्न नसकिने बताए । कार्यक्रममा व्यावसायी आनन्द बतास र गणेशबहादुर श्रेष्ठले पार्टीभन्दा बाहिर रहे अधिकारीका शुभचिन्तकले प्रतिष्ठानमा रहेर काम गर्न पाउनुपर्ने धारणा राखे ।
प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराई अधिकारीले सबै क्षेत्रबाट प्रतिष्ठानमा बसेर काम गर्ने पाउनुपर्ने आग्रह आएकाले सबैलाई समेट्ने प्रयास गरिने बताइन् । व्यवसायी बतासले आफ्नो र अटोवेज प्रालिका प्रमुख नारायाण पौडैलको तर्फबाट प्रतिष्ठानलाई ५, ५ लाख सहयोग गर्ने घोषणा गरे ।
हाललाई प्रतिष्ठानको केन्द्रीय कार्यलाय पोखरा र काठमाडौमा सम्पर्क कार्यलय राखिने भएको छ ।






