बाढी प्रभावितकाे स्वास्थ्य परीक्षण गर्दै डा. केसी

डा. गोविन्द केसी बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेका छन् । शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य चौकीमा आएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. केसीले विरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

बाढीबाट प्रभावित बस्तीमा झाडा पखालासँगै भाइरल ज्वरोलगायतका रोग देखापरेको उनले बताए । बाढी आएको नौ दिन बितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिले स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छैन ।

अकस्मात बन्जरहा आइपुगेका डा. केसीको स्वास्थ्य शिविरमा स्थानीयको बाक्लो उपस्थिति छ । स्वास्थ्य चौकीमा आएका एक दर्जन बढी स्थानीयमा झाडापखालाको समस्या पाइएको छ । बाढीको मार खेपिरहेका रौतहटका जनताहरुलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आफू रौतहट आएको उनले बताए । उनले शुक्रबार मात्र १४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरेका छन् ।