लोक सेवाको परीक्षा बिथोल्न खोज्ने ४ पक्राउ

लोकसेवा आयोगको परीक्षामा अवरोध सिर्जना गर्ने चार जना पक्राउ परेका छन्। शनिबार दिक्तेलका विभिन्न परीक्षा केन्द्रमा आयोगको पाँचौं तहको परीक्षा सञ्चालन भइरहेको समयमा अवरोध गर्ने नेपाल आदिवासी जनजाति महासंघका खोटाङ सचिव रबिन खम्बु, महासंघका सहसचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई प्रहरीले पक्राउ गरेको हो।

परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले बताए।

संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिबासी जनजाति महासंघ एवं आदिवासी जनजाति संघसंगठन आवद्ध संयुक्त संघर्ष आन्दोलन परिचालन समितिले प्रदेश १ बन्द गरेको जनाएको छ।