बहुराष्ट्रिय कम्पनीको ह्याटमा सुसज्जित
साम्राज्यवादी प्लास्टिक
भूमण्डलीकरणको घोडामा चढेर
जब ओर्लियो
तेस्रो विश्वका कुमारी छातीहरुमा
त्यसले झोलाका नाममा
घिरौंला, रायोको साग र भिन्डीलाई
आफ्नो अगस्ति पेटमा हुलेर
छालामा एलर्जी
छातीमा दम र पूरै शरीरमा
क्यान्सरको उपहार सित्तैंमा बाँडेर गयो ।
प्लास्टिकका गोडाले
जब टेक्न थाले सहरका कलेजामा
बस्ती प्लास्टिकको पहाडमा अनुवाद भयो
सिङ्गै सहर
प्लास्टिकको थैलामा भूमिगत भयो
ढलहरु ढाकिन थाले
र निरुपाय नालीहरु नासिन थाले
हेर्दाहेर्दै जलमग्न भयो सहर
र खण्डहरमा भूमिगत भए स्मारकहरु
व्यभिचारी प्लास्टिकले तिम्रो सहरमा
जीवनको त्रासदी, वातावरणमा फोहोर
र बस्ती डुबाउने बाढीको
चिरस्मरणीय उपहार सित्तैंमा बाँडेर गयो ।
जब हुर्रिएर पुगेथ्यो
अर्गानिक गाउँमा प्लास्टिकको हुल्याहा जुलुस
उल्लासले उसका गोडाहरु
खेतखेतमा नाच्न थाले
नदी, ताल र तलैयामा पौडिन थाले
खेतीहरु एकाएक वृद्ध रोगीजस्ता देखिन थाले
धमाधम जलचरहरुले आत्महत्या गरे
अपराधी प्लास्टिकले तिम्रो गाउँमा
उर्वरत्वको अभिशाप, अभावको अनिकाल
र निर्दोष जीवनलाई
मृत्युदानको उपहार सित्तैंमा बाँडेर गयो ।
हाम्रा शास्त्रहरुले
आत्माको अमरत्वमाथि बहस गर्थे
आज देखिरहेछु
जतिसुकै माटोमा समाधिस्थ गर
अविनाशी छ प्लास्टिकको आत्मा
र जतिसुकै डढाएर गर यसको दहन
धुँवा भएर डुलिरहन्छ
अभीशप्त फोक्सोको पाखाभरि
अपराजेय छ प्लास्टिकको आत्मा
यसको अमरत्वको सार्वभौम साम्राज्य
सगरमाथादेखि समुद्रको पिंधसम्म
चक्रवर्ती सम्राट् भएर फैलिरहेछ
किनकि अजर र अमर छ
प्लास्टिकको यात्रा
र धुन्धुकारि छ
यसको कपटी आत्मा ।
२०७६।३।३१




