रामलाल-श्रीमाया फोटोग्राफी पुरस्कार मदन सुब्बालाई

रामलाल-श्रीमाया फोटोग्राफी पुरस्कार यसवर्ष अग्रज फोटोग्राफर मदनसुब्बा इङनामलाई प्रदान गरिने भएको छ ।

पोखरा फोटोग्राफर संघद्वारा संचालित संघका संरक्षक गणेश छवि तथा उनकी धर्मपत्नी तीर्थ श्रेष्ठद्वारा वि.स.२०७० सालमा स्थापित अक्षयकोषबाट उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । फोटोग्राफी पुरस्कारको राशी २५ हजार ५ सय २५ रुपैयाँको छ ।

नेपालमा फोटोग्राफी ब्यवसाय गरी फोटोको माध्यमबाट समाजमा उल्लेखनीय योगदान दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अग्रज फोटोग्राफरलाई प्रत्येक २÷२ बर्ष पुरस्कार प्रदान गरिने प्रावधान छ ।

प्रतिभा छनोट समितिमा संस्थाका पूर्व अध्यक्ष रामजी थापा संयोजक, पत्रकार कमल पौडेल अथक, जीवन ढुंगाना, सुके घले, उत्सव मुल्मी, संघका अध्यक्ष रविनाथ दाहाल र सदस्य सचिवमा कपिल सापकोटा थिए ।

मदन सुब्बा इङनाम वि.स. २०१३ साल कात्तिक १३ गते तेह्रथुम जिल्लाको ईवा–५ मा जन्मिएका थिए । उनी वि.सं. २०३१ सालदेखि फोटोग्राफी पेशा गर्दै आईरहेका छन् ।

वि.स.२०३७ सालदेखि फोटो क्यापिटलको नाममा फोटोग्राफी ब्यवसाय संचालन गर्दै आएका उनी पोखरा फोटोग्राफर संघका संस्थापक तथा पूर्व अध्यक्ष समेत हुन् ।

सुब्बाले २०४० साल श्री ५ बीरेन्द्रको शुभ जन्मोत्सवको अवसरमा दृश्य फोटो प्रदर्शनीमा तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।

सुब्बालाई आगामी भाद्र २ गते विश्व फोटोग्राफी दिवसमा पुरस्कार प्रदान गरिने बताइन्छ । उक्त पुरस्कारबाट यसअघि विश्व शाक्य, नारायण बाटाजू र रमा राना पुरस्कृत भैसकेका छन् ।