बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा ३ बालबालिका बिचल्लीमा परेका छन् ।
बारेकोट गाउँपालिका–५, कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र १० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन् । उनीहरुलाई शिक्षा दीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ ।
५ वर्षअघि बाबु कलिमान नेपालीको मृत्यु भएको र आमा सरस्वतीले विवाह गरेर अन्यत्रै गएपछि उनीहरु सहाराविहीन बनेका छन् । उनीहरू गाउँ नजिकैको सरस्वती माध्यमिक विद्यालय सिलंगीचौरमा ७, ८ र ६ कक्षामा पढ्छन् ।
‘पढ्न मन भएर के गर्ने रुकापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडासमेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्या छ’, हीराले भने ।
घरको अन्नबालीले ३ महिना पनि खान पुग्दैन, गाउँघरमा ज्याला मजदुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घरव्यवहार धान्ने गरेको हीरा बताउँछन् ।
उनीहरुको सहयोगका लागि विभिन्न संघसंस्था तथा व्यक्तिसँग अनुरोध गरे पनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताए ।
‘दाजुको मृत्यु भयो, भाउजू पोइल गइन् के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु’, उनले भने ।




