पत्रकारलाई मार्ने धम्की दिने थुनामा

मकवानपुरका पत्रकार बलराम पुडासैनीलाई समाचार लेखेको आधारमा ज्यान मार्ने धम्की दिनेलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० दिनका लागि थुनामा राख्ने आदेश दिएको छ ।

हेटौंडाबाट संचालित तुखबर डटकममा मकवानपुरगढी गाउ“पालिकामा स्ल्याब ढलानमा लापरबाही भएको समाचार प्रकाशित भएपछि उपभोक्ता समिति अध्यक्ष रामप्रसाद घिमिरेले पत्रकार पुडासैनीलाई फोन मार्फत ज्यान मार्ने धम्की दिएका थिए । 

तुखबरका संवाददाता पुडासैनीलाई समाचार प्रकाशितपछि मंगलबार घिमिरेले ज्यान मार्ने धम्की दि“दै अश्लिल शब्द प्रयोग गर्दै गाली गरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीमा दिइएको मुद्दा दर्ता गरेपछि १० दिन थुनामा राख्ने आदेश दिएको हो । बुधबार बिहान गाउ“पालिका अध्यक्ष बिदुर हुमागाईंसहित धम्की दिने घिमिरेले जिल्ला प्रहरी कार्यालयमा सहमति जुटाउने प्रयास गरेपनि छलफलपछि सहमति नजुटेपछि प्रशासनले म्याद थप गरेको हो ।

पत्रकार पुडासैनीलाई ज्यान मार्ने धम्की दिएपछि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, मकवानपुर शाखा र नेपाल प्रेस युनियनले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना र दोषिलाई कडा कारबाहीको माग गरेको छ ।