देशमा विभिन्न भागमा बसोबास गर्ने अत्रि गोत्रीय पहारीहरु संगठित हुँदै छन् । पहारी कुल संरक्षण समिति गठन गरेका उनीहरुले पहारी कुल महिला परिचालन उपसमिति गठन गरेका छन् ।
शनिबार भएको पहिलो भेला भेलामा उपसमितिको कार्यसमिति सार्वजनिक गरियो । उपसमिति अध्यक्षमा लता पहारी , प्रथम उपाध्यक्ष अञ्जना, द्वितीय उपाध्यक्ष विजया, सचिव शोभा, कोषाध्यक्ष सत्यदेवी, सहसचिव चन्द्रकला र सहकोषाध्यक्ष सुशीला छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य राजीव पाहारीले भेलाकै कारण पहारी बन्धुहरुलाई चिन्ने मौका मिलेको बताए । उनले सुखदुःखको चौतारी निर्माण गर्न आग्रह गर्दै संस्थाको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता गरे । राजीव पाहारीको राष्ट्रिय भेलाका संयोजकसमेत हुन् ।
पहारी कुल संरक्षण समिति अध्यक्ष गोविन्दराज पहारीले २४ उसमिति बनाएर विभिन्न काम भइरहेको सुनाए । समितिले ५० लाखको अक्षयकोष बनाउन लागेको छ । कोषमा अहिलेसम्म १० लाखभन्दा बढी जम्मा भइसकेको छ । शनिबार बोधराज÷सीता ५० हजार, सरस्वती १ लाख, विष्णु, कल्पना र कमलाले जनही २५ हजार अक्षयकोषमा जम्मा गरे ।

गोबिन्दले देशभरका पहारीहरुलाई संस्थामा आवद्ध गरी दुखदुःखको चौतारी बनाउने योजना सुनाए । उनले भने, ‘सामूहिक रुपमा चाडपर्व मनाउने, दुःखसुख सँगै बाड्ने, कुनै संकट परे पहारीहरुको साथी संस्था बनाउँदै छौं ।’
पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले जुम्ला हुँदै नेपालका विभिन्न भेगमा छरिएर रहेका पहारीहरुलाई एकतावद्ध गर्ने प्रयास सराहनीय भएको बताए । कार्यक्रममा सहकारी उपसमिति संयोजक महेश्वर पहारी, समितिका उपाध्यक्ष दुर्गादेवी, वंशावली निर्माण उपसमिति संयोजक प्रेमराज, दुर्गादेवी र विजयाले बोलेका थिए ।
पहारी कुल महिला परिचालन उपसमिति संयोजक लता पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष अञ्जना र सञ्चालन सचिव शोभाले गरेका थिए ।






