चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीबीच दोस्रो अनौपचारिक शिखर वार्ता हुने भएको छ।
भारतको द हिन्दु पत्रिकाका अनुसार आगामी अक्टोबर १२ मा सी र मोदीबीच बनारसमा शिखर वार्ता हुन लागेको हो। बनारस प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र हो।
गत महिना काजगस्तानको विस्केकमा भएको सांघाई कोअपरेशन अर्गनाइजेसनको शिखर सम्मेलनका क्रममा मोदी र सीबीच साइडलाइन वार्ता भएको थियो।
सोही भेटमा दुई नेताबीच भारत र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा अनौपचारिक शिखर वार्ता गर्न कुरा भएको थियो।
बनारसमा हुँदा सी र मोदीले गंगा नदीमा डुंगा सयर गर्ने कार्यक्रम रहेको बताइएको छ। शिखर वार्ताको थप विवरण भने सार्वजनिक गरिएको छैन।
शिखर वार्ताको तयारीका लागि भारतीय विदेश मन्त्री एस जयशंकर अर्को महिना बेइजिङ जाँदैछन्।
गत वर्ष सी र मोदीबीच चीनको हुवेई प्रान्तको राजधानी वुहानमा अनौपचारिक शिखर वार्ता भएको थियो।
दुई वर्षअघि चीन र भारतबीच ७३ दिन चलेको दोक्लम विवाद चलेको थियो। त्यसपछि सम्बन्धलाई सुधार गर्न मोदी वुहान गएका थिए।
दुई नेताबीच हुवेई प्रान्तीय संग्राहलयमा एक्लाएक्लै भेट भएको थियो। साँझ राष्ट्रपति सीले मोदीको सम्मानमा इस्ट लेक गेष्ट हाउसमा रात्रीभोज दिएका थिए। त्यसपछि उनीहरूले तालमा डुंगा सयर गरेका थिए।




