बाबा : एक सपना !!

बाबू ! 
कहाँ छ तिम्रो बाबा ? 

मेरो बाबा- 
भाइबरमा छ, म्यासेन्जरमा छ ! 
इमाेमा छ, स्काइपमा छ ! 
.
मेरो बाबा- 
अरबमा छ, मलेसियामा छ ! 
कतारमा छ, काेरियामा छ ! 

मेराे बाबा- 
भारतमा छ, अस्ट्रेलियामा छ !
युराेपमा छ, अमेरिकामा छ ! 
.
जताततै छ मेराे बाबा 
काेठाकाे कम्प्युटरमा छ ! 
मेरै हातकाे स्मार्ट फाेनमा छ ! 

हरेक दसैंमा बाबाले 
टीका लगाइदिन्छ मलाई ! 
तर टीका मेराे निधारमा टाँसिदैन ! 

काँचले छेकेकाेे छ बाबालाई ! 
बाबा रुँदा 
म अाँसु पुछिदिन सक्दिनँ ! 

बाबा त एउटा सपना हाे 
उसलाई देख्न सकिन्छ 
छुन सकिन्न !! 

बाबू ! कहाँ छ तिम्रो बाबा ! 
मेराे बाबा जताततै छ 
तर कहीँ छैन मेराे बाबा !!