कांग्रेस महामन्त्रीको गाडी पुलमुनि

 नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ ।

अविरल वर्षासँगै टेकु पुलमुनि जम्मा भएको पानीमा शुक्रबार कोइराला चढेको गाडी फसेको हो । त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइराला पानीमा गाडी रोकिएपछि नजिकैको चिया पसलमा केहीबेर बिताएका थिए ।

कोइराला शुक्रबारदेखि शुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जाँदै थिए । गाडी फसेपछि अर्को गाडीको सहयोगमा नेता कोइरालाको गाडीलाई निकालिएको थियो ।

बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले राजधानीलगायत देशका अधिकांश ठाउँमा जनजीवन प्रभावित भएको छ । वर्षापछि बागमतीमा भेल बढेको छ । ट्राफिक प्रहरी प्रवक्ता एसपी रवीकुमार पौडेलले वर्षाले काठमाडौं उपत्यकाभित्र सवारी आवागमनमा खासै समस्या नरहे पनि बागमती नदी करिडोरमा भने समस्या देखिएको छ ।