कामना सेवा विकास बैंकको डिमुवा शाखा शुभारम्भ

कामना सेवा विकास बैंक लिमिटेडले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवा बजारमा शाखा विस्तार गरेको छ । बैंकको योसंगै ९२ शाखा पुगेको छ ।

मोदी गाउंँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले बैंकको शाखा शुभारम्भ गर्दै चुस्तदुरुस्त र दू्रत गतिको सेवा दिन बैंकलाई आग्रह गरे । उनले जनताले अब कन्तुर, सन्दुस वा ढुकुटीमा होइन बैंकमा नै राख्ने वातावरण सृजना गर्नुपर्ने खाँचो औंल्याए ।

गाउँपालिकाकी उपाध्यक्ष सेती महतले ग्रामिण क्षेत्रमा वित्तीय सेवा दिन आउनु खुशीको कुरा भएको भन्दै आवश्यक परे बैंकसंग सहकार्य गर्ने बताइन् ।

मोदी गाउँपालिका वडा नंं. ६ वडा अध्यक्ष विमल लामिछानेले डिमुवावासीको पहल र आग्रहमा बैंकको शाखा विस्तार भएको बताए ।

बैंकका सहमहाप्रवन्धक एवं गण्डकी प्रदेश प्रमुख टुवराज बाँस्तोलाले बैंकको समग्र वित्तीय अवस्थाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघकी गंगा तिमिल्सिना, डिमुवा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र पौडेल लगायतले पनि बोलेका थिए ।

बैंकका संचालक चतुराखर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रवन्धक धु्रव पौडेलले स्वागत गरेका थिए ।

केही समय अघि पोखरा र हाल काठमाडौंमा प्रधान कार्यालय रहेको बैंकले ग्रामिण क्षेत्रका र उत्पादनशिल क्षेत्रका अलावा कृषि, पर्यटन, शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गरेको छ ।

बैंकले यसै आर्थिक वर्ष भित्र थप ७ वटा शाखा विस्तार गरी १ सय शाखा पुर्याउने लक्ष्य छ । बैंकको हाल चुक्ता पुँजी २ अर्व ५४ करोड, निक्षेप संकलन २३ अर्ब तथा कर्जा लगानी २० अर्व २५ करोड छ ।