पोखरा महानगरपालिका वडा नं. १७ का बासिन्दालाई आधा रकम अनुदानमा कम्पोस्ट बिन वितरण गरिएको छ । १ हजार ५ सय पर्ने बिनमा महानगर र उपभोक्ताको समान ७ सय ५० लगानी भएको छ ।
बिहीबार आयोजित कार्यक्रममा वडाध्यक्ष तीर्थराज अधिकारीले वडावासीलाई बिन वितरण सुरुआत गरे । फोहोर व्यवस्थापन गर्न सहज होस् र त्यसबाट उपभोक्ताले लाभसमेत लिन सकुन् भनी बिन वितरण गरिएको हो ।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले डस्टबिनको प्रयोग २ दृष्टिले उपयोगी भएको बताए । उनले भने, ‘यसको प्रयोगले एकातिर फोहोर व्यवस्थापन हुन्छ भने अर्काेतिर कम्पोस्ट मल पनि उत्पादन हुन्छ ।’ घरमा निस्कने फोहोरलाई व्यवस्थापन गरी कौसीखेती, करेसाबारी आदिमा उपयोग गर्न उनले आग्रह गरे ।
पोखरा महानगरका कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगीले फोहोर व्यवस्थापन महानगरकै चुनौती भएकाले यसलाई घर घरबाटै व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । फोहोरमैलाको प्रभावकारी व्यवस्थापन भए फोहोर समस्याको रुपमा नरहने बताइन् ।
महानगरका सरसफाइ शाखा प्रमुख कल्पना बरालले आधुनिक युगको सभ्य नागरिक बन्न फोहोरको व्यवस्थापन अत्यावश्यक भइसकेको बताइन् । उनले भनिन्, ‘वर्गीकरण, व्यवस्थापन गरे फोहोर समस्या होइन, स्रोत हो ।’ उनले कार्यक्रममा कम्पोस्ट बिन प्रयोग गर्ने तरिका पनि सिकाइन् । पोखरा १७ का वडा सचिव सुभास पौडेलले नागरिकको सक्रिय सहभागिता र चेतनाबिना फोहोर व्यवस्थान हुनै नसक्ने बताए ।
पहिलो चरणमा २ सय घरलाई कम्पोस्ट बिन वितरण गरिएको छ । यसको प्रभावकारिता मूल्यांकन गरी भविष्यमा थप बिन वितरण गर्ने वडाको योजना छ ।






