गोप्य रुपमा घरजम गरेका चलचित्र निर्माता छवीराज ओझा र नायिका शिल्पा पोखरेलबीचको खटपट प्रहरी समक्ष पुगेको छ ।
चलचित्रबाट चिनारी हुँदै लामो अफयेरपछि २०७३ सालको दशैंछेक गोप्य विवाह गरेका छवीराज र शिल्पाको मनमुटाव अहिले प्रहरीसम्म पुगेको हो । नायिका शिल्पाले अहिले पति ओझाविरुद्ध प्रहरीमा नै उजुरी हालेकी छन् । आपसी विवादको क्रममा हातपात गर्दा शिल्पाको कानको जाली नै फुटेको जनाइएको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुटाई दिएको भन्दै पोखरेलले मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी छन् ।
हाल शिल्पा चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ । यसबारे बुझ्न शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले फोन उठाइन् । उनले शिल्पाको कानको जाली फुटेको भन्दै बोल्न सक्ने अवस्था नरहेकाले आफूले फोन उठाएको बताएकी छन् ।
ओझाको कुटपिटपछि शान्ति सुरक्षाको माग गर्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएको जानकारी दिँदै थप प्रहरीमै बुझ्न आग्रह गरिन् । यस्तै काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले पनि शिल्पाले उजुरी दर्ता गरेको पुष्टि गरेका छन् । श्रीमानबाट असुरक्षा भएको भन्दै शान्ति सुरक्षा माग गर्दै शिल्पाले उजुरी दर्ता गराएको उनको भनाई छ ।





