यस्ता हुन्छन् मेष राशि भएका व्यक्तिहरू

मेष राशि (चू चे चो ला ली लू ले लो अ)
मेष राशिवाला व्यक्ति चञ्चल नेत्रयुक्त, प्रायः रोगी, धर्म र धन दुवैको मूल्यांकन गर्ने, ठूला जंखाभएको, कृतघ्न, पापरहित, राज्यबाट सम्मानित, सुन्दरीहरूलाई आनन्दित पार्ने, दानी, जलदेखि भयभित हुने, कठोर कार्य गर्ने तर अन्त्यमा विनम्र स्वभावको हुन्छ ।

त्यसैगरी गोला, राता र चम्किला आँखा भएको, बढी तातो खाने, सागपात मनपराउने, अल्पाहारी, छिटै खुशी हुने, भ्रमणशील, कामुक, कमजोर घुँडायुक्त, शूरवीर, सेवाकार्य जान्ने, शिरमा चोटको निसानयुक्त, स्वाभिमानी र अत्यन्त चञ्चल स्वभावको हुन्छ ।

त्यस्तै पुत्रवान, तेजस्वी, परोपकारी, उत्तम कार्यायुक्त, सुशील, देवभक्त, गुरुभक्त, कामबाट विचलित हुने, प्रायः उदररोगी र स्वतन्त्र व्यवसायबाट उन्नति गर्ने हुन्छ ।

मेष राशिवालाले कर्कट, सिंह, धनु र मीन राशिवाला व्यक्तिसँग व्यवसाय गर्दा लाभ हुनेछ भने कन्या र वृश्चिक राशिको मित्रता दिगो हुन सक्दैन । मेष राशिको व्यक्तिलाई मंगलबार शुभ र बुधबार अशुभ हुन्छ । द्वितीयाको चन्द्रमाको दर्शन गरी कुनै रातो वस्तु हेर्नाले यस राशिको व्यक्तिलाई त्यस महिनाभरि नै सुखदायी हुन्छ ।

यस राशिको मालिक मंगल भएकोले त्यसको रत्न मुगा लगाउनु शुभ हुन्छ । त्यसैगरी मंगलको पूजापाठ र जप गर्नुका साथै मंगलबार गणेश एवं हनुमानको पूजा गर्नु लाभदायक हुन्छ ।

लालकिताब अनुसार उपाय : कसैसँग कुनै वस्तु सित्तैमा नलिनु, हात्तीको दाँतबाट निर्मित वस्तु नलगाउनु, रातो रुमाल प्रयोग गर्नु, चाँदीको औंठी लगाउनु, साधुसन्त, गुरु र आमाको सेवा गर्नु, मिठाइ र गुलियो पदार्थको व्यापार नगर्नु, नीमको वृक्ष आँगनमा लगाउनु, सदाचारको पालन गर्नु, सुत्ने बेलामा सिरानमाथि एक गिलास पानी राख्नु र त्यसलाई बिहान कुनै गमलामा हाल्नु, बहिनी, छोरी र फुपूलाई मिठाई दिनु र विधवालाई सहयोग गर्नु ।

यसैगरी मेष अन्तरिक्षको प्रथम राशि हो जसको मालिक मंगल ग्रह हो र यसको स्वभाव अग्निको जस्तै हुन्छ । मंगल ग्रहलाई ज्योतिष विज्ञानले सेनापतिको रूपमा लिएको छ ।

त्यसैले मेष राशि भएका व्यक्तिहरू सेना, प्रहरी र अत्यधिक मात्रामा ऊर्जाको प्रयोग गर्नुपर्ने क्षेत्रमा सफल हुन्छन् ।
डाक्टर, पाइलट र होटल व्यवसायसँग सम्बन्धित काममा लागेमा यिनीहरूलाई सफलता चुम्न सहज हुनेछ । यिनीहरूमा नेतृत्व लिन सक्ने क्षमता हुन्छ अनि आफूले चाहेको कार्य गर्छु भनी अठोट गरेमा पछाडि फर्केर हेर्न पर्दैन ।
अध्ययन : मेष राशि भएका व्यक्तिहरुका लागि गणित, फिजिक्स र अकाउण्ट विषयमा अधिक सफलता मिल्छ । सरकारी क्षेत्रमा सफलता प्राप्त हुन्छ ।
यी राशि भएका मानिसले अधिक सफलताका लागि रातो रंगको कपडा लगाउन आवश्यक हुन्छ । मुसुरो दाल दान गर्दा शुभ फल प्राप्त हुन्छ ।

यसैगरी मेष राशि भएकाहरू यिनीहरू कामुक र रोमान्टिक हुन्छन् । विछोडको पीडामा रुमल्लिएर जीवनलाई बर्बाद हुनबाट पनि जोगिने स्वभाव मेष राशिका जातकमा पाइन्छ । मेष राशिका प्रेमी या प्रेमिकाले रातो वा गुलावी रङको उपहारको छनोट गर्नु राम्रो हुन्छ ।