मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि ७ वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पीपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेशराजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।
पुरस्कारका लागि २ सय ५७ कृति प्राप्त भएकामा छनोट समितिको सिफारिसमा ती ७ कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ । छनोटमा परेका सात कृतिमध्येबाट १ कृतिलाई मदन पुरस्कार प्रदान गरिनेछ । साहित्यिक क्षेत्रमा यस पुरस्कारलाई महत्वपूर्ण मानिन्छ ।




