पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभरिका सरकारी स्कुल र बाल विकास केन्द्रका बालबालिका, शिक्षक र अभिभावकको सित्तैमा आँखा जाँच गराएको छ । वडा कार्यालयले पोखरा महानगरमै पहिलो पटक आँख जाँच शिविर गरी आवश्यक परामर्श र औषधी वितरण गरेको हो ।
असार १३ देखि १७ गतेसम्म ५ दिन भएको शिविरमा करिब ३ हजारको आँखा परीक्षण गरिएको छ । तीमध्ये ४० जना विद्यार्थीलाई चश्मा आवश्यक देखिएकाले उनीहरुलाई सित्तैमा चश्मा वितरण गर्ने तयारीसमेत वडाले गरेको छ । शिविरमा हिमालय आँखा अस्पताल घारीपाटनले प्राविधिक सहयोग गरेको थियो ।
शिविरमा शिक्षक र अभिभावकको पनि आँखा जाँच गरिएको छ । जाँच गराउँदा चिकित्सकले औषधी खानुपर्ने ठहर गरेकाहरुलाई औषधिसमेत सित्तैमा वितरण गरिएको छ ।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोषण र आँखाबारे ज्ञान कम हुँदा र बेलैमा उपचार नगर्दा बालबालिकाको आँखामा समस्या देखिएको बताए । उनले भने, ‘आम्दानी थोरै भएका र आफैं आँखा जाँच गरी सेवा लिने चेतना भइनसेकेका विद्यार्थीलाई लक्षित गरी शिविर चलाएका हौं ।’ पोखरा महानगरमै यस खालको कार्यक्रम यो पहिलो भएको वडा कार्यालयले जनाएको छ ।

पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य राधिका शाही योगीले न्यून आय र आँखाबारे सचेतनासमेत कम भएका निम्न वर्गका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम भएको बताइन् । उनले भनिन्, ‘कक्षामा पढाएको नदेख्ने, पढ्न, लेख्न नसके पनि विद्यार्थी र अभिभावकलाई पनि थाहा नभएको हुन सक्छ । यस्ता समस्या हटाएर बालबालिकाको भविष्य उज्ज्वल बनाउन शिविर सञ्चालन गरेका हौं ।’
आँखा जाँच गराएकामध्ये ४० जना विद्यार्थीलाई चश्मा आवश्यक पर्ने देखिएको छ । उनीहरुलाई आवश्यक चश्मा पनि चाडै सित्तैमा वितरण गर्ने वडाको योजना छ । सहरी स्वास्थ्य केन्द्र पोखरा १७ को संमन्वयमा भएको कार्यक्रमको संयोजन महिला स्वास्थ्य स्वयंसेवक सविता भण्डारी सुवेदीले गरेकी थिइन् ।




