नगर गौरव कार्यक्रमअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित चाम्बासदेखि भानुभक्त आचार्यको जन्मस्थल शिखर कटेरीसम्मको सडक मार्ग स्तरोन्नति भइरहेको छ । उक्त मार्ग डुम्रे–बेँसीशहर खण्डमा रहेको वडा नं–३ स्थित चाम्बासदेखि वडा नं ४ स्थित आदिकवि भानुभक्त आचार्यको जन्मघर शिखर कटेरीसम्म जोडिएको छ ।
वर्षायाममा हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले नगर गौरव कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति तीव्ररुपमा गरिएको नगरप्रमुख उदयराज गौलीले बताए । चाम्बास, दोरदोर, भकुन्थोक, रिट्ठाबोट र भानुजन्मस्थल मार्ग नामकरण गरिएको सो मार्गको करीब ९५ प्रतिशत पूरा भएको छ । यस मार्गलाई नगरपालिकाले नगर गौरवको कार्यक्रममा समेटेकाले स्थानीयवासी खुशी भएका छन् ।
उक्त सडक स्तरोन्नतिका लागि नगरपालिकाले ८० लाख विनियोजन गरेको सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिए । चाम्बासदेखि शिखर कटेरीसम्म गरी यो मार्ग करीब १० किलोमिटर लामो छ ।
भानु नगरपालिकाले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती असार २९ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भानुप्रति सम्मानका लागि नगरपालिकाभित्र पर्ने सामुदायिक विद्यालय तथा सबै सरकारी कार्यालयमा बिदा दिने निर्णय भएको नगर प्रमुख उदयराज गौलीले बताए ।




