विप्लवका पोलिटब्युरो सदस्य अदालत परिसरबाटै पक्राउ

 प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ पुनः पक्राउ परेका छन् ।

सुनसरी प्रहरी हिरासतमा रहेका जीवन्तलाई सोमबार जिल्ला अदालत सुनसरीले साधरण तारेखमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशसँगै रिहा भएका उनलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो । उनलाई प्रहरीले चैत १ गते शुक्रबार ललितपुर च्यासलबाट कोठाबाटै गिरफ्तार गरिएको थियो ।

पुनः पक्राउ गरेसँगै उनलाई नुवाकोट लैजाने तयारी भएको बताएको छ । यसअघि पनि रिहा भए लगत्तै पक्राउ परेका जीवन्तमाथि प्रहरीले राजद्रोह, बम विष्फोट र संगठित अपराधको मुद्दा चलाएको छ ।

यस्तै सोमबार नै आदलतका आदेशबाट नेकपाका केन्द्रीय सदस्यसहित ४ नेता रिहा भएका छन् । रिहा हुनेहरुमा चुडामणि ओली ‘आदर्श’, केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’, धनकुटा इञ्चार्ज बाबुराम राई ‘विवश’ र मिनबहादुर राई छन् । उनीहरुलाई प्रहरीले गत बैशाख ७ गते पक्राउ गरेको थियो । रिहा भएका ४ जना आफ्न्तको सम्पर्कमा पुगिसकेको जनाइएको छ ।