कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काइ हत्या गरेका थिए ।
बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत
ज्यान मार्न खोजेको भन्ने कसूरमा अदालतले दुई वर्ष कैद र रु २० हजार
जरिवाना भएको बताइएको छ । दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश सनतचन्द्र
लवटको इजलासबाट सोमबार उक्त फैसला भएको हो ।
मुुलुकी अपराधसंहिता
२०७४ को दफा ४१ (क) तथा दफा १७७ (१)को कसूरमा दफा १७७ (२) तथा सोही
संहिताको दफा ४१ बमोजिम जन्मकैद र ज्यान मार्ने उद्योगतर्फ सोही संहिताको
दफा १८३ (१)को कसूरमा सोही दफा १८३ (२) दुई वर्ष कैद र रु २० हजार जरिवाना
भएको जनाइएको छ । घरायसी विवादमा रुखमा गएर नाम्लोले पासो लगाउन खोजेका
बालारामलाई त्यसो नगर्न सम्झाउँदा आमा पार्वतीको हत्या गरी त्यसपछि करीब
४०० मिटर टाढा आफ्नै घरमा हजुरआमा जुवारालाई घाइते बनाएका थिए ।
घटना विवरणअनुसार पासो खोल्न जाँदा आफैमाथि आक्रमण गर्न खोजेका छोराबाट जोगिन भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला आमा पार्वतीलाई कोदालोले टाउकोमा प्रहार गरिएको चोटले घटनास्थलमै ज्यान गएको थियो ।






