राम्रो निद्राका लागि मानिसहरु सुत्नु अगाडि विभिन्न पेय पदार्थ सेवन गर्ने गर्दछन् । यस्तोमा कुन ड्रिङ्कले हामीलाई आरामसँग सुत्न मद्दत गर्छ र कुन चाहिँ हानिकारक हुन्छ भन्नेबारे स्वास्थ्यविद्हरुले विभिन्न सुझाव दिएका छन् । अनुसन्धानपछि उनीहरुले सुत्नुअघि केही निश्चित पेय पदार्थ भने सकेसम्म सेवन नगर्न भनेका हुन् ।
विशेषगरी क्याफिनयुक्त पेय पदार्थ आरामदायक निद्राको शत्रु हुने गरेको बताइएको छ । त्यसैले सुत्नेबेला तिनको उपभोग कसैको रोजाइमा हुन नहुने न्युयोर्कस्थित साइरेक्युज युनिभर्सिटीकी न्युट्रिसन विभागकी असिस्टेन्ट प्रोफेसर जेसिका गेरे रेडमन्ड बताउँछिन् ।
क्याफिनप्रति मानिसको संवेदनशीलतालाई हेरेर कोही दिउँसोदेखि नै क्याफिनबाट टाढा रहनु पर्ने त कसैले रातिको खाना खाने समयतिर क्याफिन सेवन बन्द गर्ने गर्न उनले बताएकी हुन् ।
उनी भन्छिन्, “जस्तै तपाईँ कामपछि दिनभरको थकाइबाट मुक्त हुन कफि पिउनुहुन्छ भने तपाईँले यसको मात्रा कम गर्दै लैजानुपर्छ र सकेसम्म सुत्नुभन्दा ६ घण्टा अगाडिदेखि क्याफिनयुक्त पेय पदार्थ सेवन गर्नैहुन्न ।” क्याफिन चिया, सोडा, चकलेट, कफीलगायतमा पाइन्छ ।
स्वास्थ्यविद् रेबेका रोबिन्स भन्छिन्, “मदिराले हामीलाई निद्रा लाग्न र सुत्न मद्दत गर्न सक्छ तर त्यसबाहेक यसका कुनै लाभ छैनन् किनकि सुतेपनि हाम्रो निद्राको गुणस्तर राम्रो हुनेछैन ।”
मदिराले हामीलाई गहिरो निद्रामा पर्न नदिने भएकाले पनि यसलाई उचित नमानिएको उनी बताउँछिन् । यसअघिका विभिन्न अध्ययनहरुमा दूधले राम्ररी सुत्न मद्दत गर्ने उल्लेख गरिएको थियो जसमा दूध तातो र त्यसमा मह मिसाइएको भए अझ प्रभावकारी हुने भनिएको छ । दूध ट्रिप्टोफनको स्रोत भएकाले पनि विज्ञहरुले लामो समयदेखि सुत्नुअघि यसको सेवन गर्न सुझाव दिँदै आएका हुन् ।
ट्रिप्टोफन एक प्रकारको एमिनो एसिड हो जसले शरीरलाई प्रकृतिक रुपमा निदाउन र निद्रा चक्रको अन्त्यपछि सहज रुपमा उठ्न मद्दत गर्न सक्छ र आराम पनि दिलाउने किसिमका हर्मोन पनि सक्रिय पार्ने विश्वास गरिन्छ । तर सबैभन्दा पछिल्ला अनुसन्धानमा भने दूधले गराउने फाइदा हाम्रो मानसिकतामा मात्र आधारित भएको सम्भावना व्यक्त गरिएको छ ।
रेडमन्डले चाहिँ सुत्नु अगाडि कुनै विशेष पेय पदार्थ सेवन गर्ने गरेकी छैनन् । उनले शरीर हाइड्रेट राखि रहनुपर्ने कुरा मात्र जरुरी भएको बताएकी हुन् । किनकि राति हाम्रो शरीरमा थोरैपनि पानीको कमी भएको अवस्थामा निद्रा अवरुद्ध हुन सक्छ र निदाएको बेला शरीरमा हुने मरम्मत प्रक्रिया पनि रोकिन जान्छ । नेस्नल एकेडेमिक अफ साइन्सेजले डिहाइड्रेसन अर्थात शरीरमा पानीको कमीबाट बच्न पुरुषहरुले औसतमा पनि दिनमा ३.७ लिटर पानी र महिलाले २.७ लिटर पानी पिउन सुझाव दिएको छ । सीएनएनबाट




