सञ्चारमन्त्रीको कामप्रति प्रचण्डको असन्तुष्टि

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कामकारवाहीप्रति गम्भीर असन्तुष्टी जनाएका छन् । उनले नेपाल टेलिकमलाई कमजोर बनाउने गरी नविकरण दस्तुर तोक्नेलगायतको काम गरिएको भन्दै मन्त्री बाँस्कोटाप्रति असन्तुष्टी व्यक्त गरे । पार्टी निकट नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशन लाई उद्घाटना गर्दै प्रचण्डले मन्त्री बाँस्कोटाको कामकारवाही ले नेपाल टेलिकमलाई नै कमजोर बनाउँने काम भईरहेको आरोप लगाए ।

उनले नेपाल टेलिकमका लागि रणनीतिक साझेदार खोज्ने काम भइरहेका बेला स्पष्ट नीति नबनाई काम भईरहेको भन्दै असन्तुष्टी जनाए । उनले भने “आईतबार बिहान यस सम्बन्धमा मन्त्री बाँस्कोटासंग कुरा गरेको थिए । तर नेपाल टेलिकमका कर्मचारीहरुको कुरा सुन्दा मैले फेरी मन्त्रीजीसँग छलफल गर्नुपर्ने भएको छ” ।

प्रचण्डले नेपाल टेलिकमलाई कमजोर बनाएर रणनीतिक साझेदार खोज्ने काम गरे त्यसले राष्ट्रियतालाई नै कम्जोर बनाउँने उनको भनाई छ । प्रचण्डले अब त्यस बिषयमा मन्त्री बाँस्कोटासंग गम्भीर छलफल कुरा गर्न लागेको बताए ।