उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने आधाभन्दा बढी गाडी

 काठमाडौं उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् ।

मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार तिरेर मर्मतसम्भार गरी ठीक बनाएपछि हरियो स्टिकर पाउने व्यवस्था छ ।

हरियो स्टिकर पाएका कारण प्रदूषण फेल भएका गाडी पनि उपत्यकामा निर्वाधरुपमा सञ्चालन भइरहेको छ तर नियन्त्रणको प्रभावकारी उपाए भने अपनाउन नसकिएको तीतो यथार्थ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो तीन महिना उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्दा आधाभन्दा बढी गाडी प्रदूषण फेल भएको भेटिएको छ ।

अभियानमा तीन हजार ५६ वटा गाडीको प्रदूषण जाँच भएकामा एक हजार ७१० गाडी प्रदूषण फेल भएको भेटियो । यसको अर्थ ५२ प्रतिशतभन्दा बढी दूषित धुवाँ फ्याँक्ने गाडी उपत्यकामा चल्ने गरेका छन् ।

‘डिजल र पेट्रोलबाट चल्ने गाडी बराबर जस्तो नै प्रदूषण फेल भएको पाइयो, त्यसैले आगामी दिनमा अझै प्रदूषण जाँचलाई कडाइ गर्नेछौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले भने । ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षण कार्यालयको संयुक्त प्रयासमा यहाँका विभिन्न क्षेत्रमा प्रदूषण अनुगमन तथा जाँच गरिँदै आइएको छ ।

सवारी परीक्षण कार्यालय काठमाडौँका अनुसार पेट्रोल गाडी करीब ३० प्रतिशत र डिजेलका गाडी ४० प्रतिशतको हाराहारीमा प्रदूषण फेल भएको पाइएको छ । कार्यालयका प्रमुख रामचन्द्र पौडेलले यसरी प्रदूषण फेल भएका गाडीलाई एक हजार रुपैयाँ जरिवाना गराउने गरिएको र प्रदूषण मापनअनुसार ठीक बनाएपछि गाडीलाई हरियो स्टिकर दिने गरिएको बताए ।

उनका अनुसार पेट्रोलबाट सञ्चालित गाडीले फ्याँक्ने धुवाँमा तीन प्रतिशतभन्दा बढी कार्बन मोनोअक्साइट हुनु हुँदैन । हाइड्रोकार्बन एक हजार पिपिएमभन्दा बढी हुनुहुँदैन । डिजेलबाट चल्ने गाडीले फ्याँक्ने धुवाँमा स्मोक डेनसिटी ६५ प्रतिशतभन्दा बढी हुनु हुँदैन ।

उपत्यकामा यस्ता गाडी प्रयोग गर्ने क्रम भने बढ्दो क्रममा रहेको छ । गाडीलाई राम्ररी मर्मत गरेर चलाउने हो भने सबै दृष्टिकोणले सुरक्षित हुने भए पनि चालकले यसमा बेवास्ता गर्दा गाडीलेसमेत वायु प्रदूषणलाई थप टेवा पु¥याइरहेको छ ।

मुलुकको राजधानी काठमाडौँ धुलो धुवाँबाट आक्रान्त छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्य हुने वर्षौैंदेखिको समस्या हो । धुलो र हिलो रोक्न धेरै प्रयास नभएका होइनन् । काठमाडौँ महानगरपालिकाले बु्रमर ल्याएर सडक सफा गर्ने अभियान समेत चलायो । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक जामको समस्या उस्तै छ । त्यसमाथि प्रदूषण फेल भएका गाडी निर्वाधरुपमा सञ्चालन हुनुले थप समस्या निम्ति रहेकोतर्फ भने ध्यान कम छ ।