ललितपुरका एक युवाले आफ्नो डेरामा एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको छ ।
१७ वर्षीया युवतीलाई ग्वार्कोबाट घर पुर्याई दिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती बलात्कार गरेको खुलेको हो । युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुर्याई दिने भन्दै बसमा चढाएका थिए ।
नम्बर थाहा नभएको बसमा चढेकी युवतीलाई चाँगाथलीमा रहेको डेरामा बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् ।
कोठामा डरधम्की देखाएर घाँटीमा चक्कु राखेर करणी गरेको पीडित युवतीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । शौचालयमा लुकेर भाग्न सफल भएकी युवतीका परिवारले असार १९ गते प्रहरीमा उजुरी दिएका थिए ।
परिवारको उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा २० वर्षीय निशान अधिकारीलाई पक्राउ गरेको मिश्रले बताएका छन् । आरोपित युवाको स्थायी घर काभ्रेको पाँचखाल भए पनि महालक्ष्मी नगरपालिकाको चाँगाथली बस्दै आएका थिए ।
आरोपित अधिकारी असार १९ गते दिउँसो चाँगाथलीबाट पक्राउ परेका हुन् । पाँच दिन म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अधिकारीमाथि अनुसन्धान भइरहेको मिश्रले बताए ।






