जोशी कांग्रेसद्वारा रामचन्द्र पौडेलमाथि कारवाही !

पूर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशी पक्षको कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई कारवाही गरेको छ । शुक्रबार मात्रै जोशी कांग्रेसले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले  रामचन्द्र पौडेल लगायतका नेतालाई कारबाही गरेको हो । जोशी कांग्रेसले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँको लेटर हेड मै विज्ञप्ति जारी गर्दै कारवाही गरेको जनाएको छ । विज्ञप्तिमा जोशी कांग्रेसलाई सहयोग नगरेकोेले पार्टीको जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्य नेता पौडेल, शंकर भण्डारी, महासमिति सदस्यहरू ध्रुव वाग्ले, रघुनाथ पौडेल, बैकुण्ठनाथ न्यौपाने, जीतप्रकाश आले, क्षेत्रीय प्रतिनीधि विश्व बास्तोलालाई पार्टीको विधान अनुसार कारबाही गर्न लागिएको उल्लेख छ।

जोशी कांग्रेसका प्रवक्ता हरिशरण पण्डित द्वारा जारी विज्ञप्तिमा  २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस तनहुँले तत्कालीन नेतृत्वका कमजोरीको कारण लज्जास्पद हार बेहोर्नुपरेको भन्दै पौडेल सहितका सात नेतालाई कारबाही गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ “तनहुँको विशेष अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति गठन भई सहज रूपमा काम गर्दै आइरहेको अवस्थामा पार्टीका निष्ठावान, कर्तव्यनिष्ठ, इमान्दार कार्यकर्ताविरुद्ध वक्तव्यबाजी गर्दै केन्द्रीय कार्यालय सानेपामा पार्टीभापति समक्ष अनाश्यक भ्रम र अफवाह फैलाई पार्टी हितविपरीत काम गरेकोले कारबाही गर्ने निर्णय गरियो” ।