महानगरपालिकाबाट बजेट लिन यस्तोसम्म…

कार्यक्रम शीर्षकमा महानगरपालिकाबाट बजेट लिन के के गर्नुपर्ला ? आयोजक संस्थाले कार्यक्रमको उद्देश्यसहित वडा कार्यालयमा प्रपोजल पेश गर्नुपर्छ, उक्त प्रपोजलबारे वडा कार्यालयले अध्ययन गरेर महानगरपालिकालाई सिफारिस गर्छ र महानगरपालिकाले आवश्यक ठानेमा कार्यक्रम गर्न अनुमति दिन्छ ।

यो अनुमति पाएसंगै आयोजक संस्थाले वडा कार्यालयका प्रतिनिधिको रोहबरमा कार्यक्रम गरेर खर्च र हिसावको यथार्थ विवरण महानगरमा पेश गरिसकेपछि मात्र बजेट प्राप्त गर्ने प्रक्रिया शुरु हुन्छ ।

तर यहाँ वडाबाट बजेट लिनकै लागि अनौठो प्रयास गरिएको छ । धादिङ–पोखरा सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा अर्को १ संस्थाले पनि सोही प्रकृतिको व्यानर राख्यो । उक्त व्यानर एकैछिन राखेर फोटो सेसन गरी निकालियो । व्यानर राख्ने संस्था धादिङ त्रिपुरा बाराही महिला समूह हो ।

यस विषयमा धादिङ–पोखरा सम्पर्क समाज र धादिङ त्रिपुरा बाराही महिला समूहका उच्च पदाधिकारी तथा कार्यसमिति सदस्य अनविज्ञ छन् । २ संस्थाका अध्यक्षहरूको मिलेमतोमा मात्र यो प्रयास गरिएको बुझिएको छ ।

यो विषयमा धादिङ समाजका अध्यक्ष कृष्णबहादुर लम्सालसंग जिज्ञासा राख्दा दिदीबहिनी समूहलाई सहयोग गर्न यस्तो गरिएको प्रतिक्रिया दिए ।

समूहकी अध्यक्ष कमला सापकोटाले आफूहरुसंग महिला समूहलाई सहआयोजक राख्ने भन्ने सल्लाहपछि तयारी गरिएको भए पनि समाजले के गरेको हो बुझ्न नसकेको बताइन् ।

समूहकी वरिष्ठ उपाध्यक्ष ववीता मल्लले यो विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिइन् ।

पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीले कार्यक्रमको नाममा महानगरबाट बजेट लिन त्यति सजिलो नभएको बताए छन् । उनले अघिल्लो वर्षको बजेट सकिएको र अब जुन प्रपोजल आए पनि पास नहुने स्पष्ट पारे ।

कार्यक्रम भद्रगोल
रक्तदान कार्यक्रम, गण्डकी प्रदेशका मन्त्री विकास लम्साललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण । विशेष अतिथिमा अन्तरसमाज महासंघका अध्यक्ष मञ्जु पौडेल भट्टराई थिइन् । कार्यक्रमका प्रमुख अतिथि मन्त्री लम्साल कार्यक्रम समापनतिर आइपुगेका थिए ।

उनी ढिलो आएपछि रक्तदान गरेका रक्तदाताले प्रमाणपत्र नलिइकनै फर्किएका थिए । कार्यक्रम सभागृह हलको केही तल गर्ने तयारी भए पनि अन्तिम समयमा सभागृह कम्प्लेक्स प्राङ्गणमा गरिएको थियो । उक्त स्थानमा प्रचण्ड गर्मी र टन्टलापुर घाममै बसेर रक्तदाताले रक्तदान गरे ।

१ सय १३ युनिट रगत संकलन
धादिङ–पोखरा सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १३ युनिट रगत संकलन भएको छ । कार्यक्रममा मन्त्री लम्साल स्वयं तथा सामाजिक अभियान्ता जितेन्द्रमान शाक्यले ६६औं पटक रक्तदान गरेका थिए । रक्तदान लगत्तै शाक्य ५० किमि साइकल यात्रामा निस्किएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं मन्त्री विकास लम्साल, अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालकी अध्यक्ष मञ्जु पौडेल भट्टराई, सामाजिक अभियान्ता जितेन्द्रमान शाक्य, समाजका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार गोकर्ण लम्साल, सचिव सरस्वती श्रेष्ठ सरु, कार्यक्रम संयोजक कमलबहादुर सापकोटा, कार्यसमिति सदस्य माधव लम्साल लगायतले बोलेका थिए ।

समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन पण्डितले स्वागत र सञ्चालन महासचिव रामप्रसाद पाण्डे राजुले गरेका थिए । कार्यक्रम पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको हो ।