पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य राधिका शाही योगीले आर्थिक रुपमा सबल नभएसम्म महिलाले समान अधिकार पाउन नसक्ने बताएकी छन् । क्षमता विकास गरी सीप, अनुभव लिएर सबै क्षेत्रमा अघि बढ्न उनले आग्रह गरिन् ।
पोखरा वडा नं. ५ मा शुक्रबार महिलाका लागि २ दिने उद्घोषण तालिम सुरुआत गर्दै उनले कमाइ नहुनु, सीप, क्षमता र उद्यम नहुनु महिला पछि पर्नुको मुख्य कारण भएको बताइन् । तालिम पस्र्याङ राटमाटा आमा समूहले आयोजना गरेको हो ।
सामाजिक रुपमा रहेका विभेदलाई कानुनले अन्त्य गरिसके पनि कतै कतै रहेका विभेद विरुद्ध आवाज उठाउँदै अधिकार खोज्न उनले आग्रह गरिन् । आफैंले गरेको काम र परिश्रमको पनि महिलाले जस लिन नसकेको उनले औंल्याइन् । उनले भनिन्, ‘हामी आफैंले पालेका वस्तुभाउ र उब्जाएका अन्नपातको भाउ पनि हामीलाई थाहा हुँदैन । अब हामी आफैं सचेत, सजग र क्रियाशील बन्नु जरुरी छ ।’
कार्यक्रममा पोखरा ५ का वडा सदस्यद्वय अञ्जु क्षेत्री र हरिमाया विश्वकर्माले यस्ता तालिमले महिलालाई आफ्ना कुरा सबै समक्ष राख्न सक्ने बनाउने बताए । सो अवसरमा माछापुच्छ«े बैंक पस्र्याङ शाखा म्यानेजर श्रीधर ढुंगाना, समाजसेवी उमा कोइराला, संस्थापक अध्यक्ष गोमा सेती, अध्यक्ष पवित्रा शर्मा लगायतले बोलेका थिए ।
शनिबारसम्म चल्ने तालिममा पत्रकार नरमाया रसाइलीले प्रशिक्षण दिइरहेकी छन् ।






