प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री भट्टराईबीच कथा युद्ध, कस्को कथा रोचक ?

नेपालमा राजनीतिक युद्ध चलिरहेकै छ । कहिले कुन पार्टी फुट्ने, कहिले कुन पार्टी जुट्ने । नेताहरुले पार्टी छोड्ने र प्रवेश गर्नेक्रम पनि तीव्र चलिरहेको छ ।

यस्तैमा वर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बीच कथा युद्ध शुरु चलेको छ ।

अघिल्लो दिनमा केही नेताहरुलाई पार्टी प्रवेश गराउनेक्रममा प्रधानमन्त्री ओलीले डा. बाबुराभ भट्टराईप्रति व्यंग्य गर्दै भ्याकुताको कथा सुनाएका थिए । प्रधानमन्त्री ओलीले भ्यागुता फुलेर फुटेको कथा सुनाए र भट्टराईको पार्टी ठूलो नभई फुटेको टिप्पणी गरे ।

ओलीले २ तिहाई अटेको नेकपामा बाबुराम भट्टराईको सिङ्गो पार्टी अट्ने बताए। भट्टराईसँगै नयाँ शक्तिमा रहेका नेपाल समाजवादी पार्टीका कल्पना धमला, देवेन्द्र पराजुली, गुणाखर भुसाल, मुनु हुमागाई नेकपा फर्किएका हुन् ।

ओलीको व्यंग्यवाण कथा डा. बाबुराम भट्टराई किन सहेर बस्थे र ? उनी पनि के कम, विद्धान नेता नै परे । उनले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक ढंगले कथा लेखे । उनले बाहुन ज्योतिषीको कथा लेखे ।

डा. भट्टराईले अप्रधानमन्त्री ओलीलाई लक्षित गरेर लेखेका कथा यस्ता छन् :

हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ!त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि?कथा यस्तो छ-निदुली बाहुन साँझमा ससुराली पुगेछन्।

सासू भित्र सेलरोटी पकाउँदै रहिछन्। ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन्! पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन् !

ज्वाइँले भनेछन्-‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार ?’ ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्। गाउँमा धोबीको गधा हराएको रहेछ।धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन्! अब पर्यो फ़साद!भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबैसुतेपछि ज्वाइँले टाप कसेछन्।

भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन्! के खोज्छस् दृष्टिविहीन,आँखा!ज्वाइँ ससुराली घर फर्केर सुतेछन्!भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्!अब के चाहियो?निदुलीको ख्याति राजदरबारसम्म पुगेछ।

राजाले दरबारमा बोलाएछन् र हराएका हीरा-जवाहरत पत्ता लगाउन भनेछन्।बस्न कोठा दिएछन्!अब पर्यो महाफसाद!भागौं,पहरा छ! कोठामै बर्बराएछन्-‘रोटी गनीगनी जैसी कहाएँ;धोबीको गधा उखुवारी पाएँ;अब आयो निदूली तेरै काल!’

पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ! उसको नाउँ पनि निदूली रहेछ!उसले रूँदै आएर भनिछ-‘बाजे मेरो ज्यान बचाइदिनोस्,हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु।’निदूली राजज्योतिषी बनेर धनधान्य भएछन! अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो !