फुसे्खोलाको तुइनको बक्स हटाइयो, अब प्रयोगमा नआउने

पोखरा महानगरपालिकाको वडा नं १७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन शुक्रबार हटाइएको छ । बंगुरका दाना लगायतका सामाग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइएपछि तुईन हटाउन बिहीबार प्रशासनले निर्देशन दिएको थियो ।

मंगलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गरेको तस्वीर सार्वजननिक भएसँगै यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो । नेपाल प्रहरीको टोलीले शुक्रबार तुईनमा प्रयोग हुने बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक कोमल शाहका अनुसार झिकिएको तुइन बाकस प्रहरीको नियन्त्रणमा छ । नेपाल सरकारले मुलुकबाटै तुइन विस्थापन गर्ने नीति लिएको छ ।