वीरगन्जमा दुई विद्यार्थीबीच छुरा हानाहान

नेशनल मेडिकल कलेजमा अध्ययनरत दुई विद्यार्थीबीच वीरगन्जमा छुरा हानाहान भएको छ । नेशनल मेडिकल कलेज र शिक्षण अस्पतालमा एमबिबिएसमा अध्ययनरत दुई विद्यार्थीबीच आज (शुक्रबार) बिहान छुरा हानाहान भएको हो ।

छुरा प्रहारबाट सर्लाही गोरैता नगरपालिकाको रामवन निवासी रन्जित प्रसाद रौनियारसहित तीन जना घाइते भएका छन् । वीरगन्ज १५ त्रिशुल चौकमा डेरा गरि बस्ने रौतहट रमौलीका अरबिन्द सहनीले सामान्य विवादमा एकासी छुरा प्रहार गर्दा रौनियार, मिना देवि र चान्दनी कुमारी घाइते भएकी छिन् । उनीहरु रोनियारका आमा र बहिनी हुन् ।

घाइते तिनै जनाको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको द नेपालटपकर्मी नरेश सर्राफले जानकारी दिए । मिना देविको हातमा, चान्दनीको पेटमा छुरा प्रहार गरिएको थियो भने रन्जितको जिउमा छुरा प्रहार भएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्त राम शर्माले बताए ।

स्थानीय जोतन साहको घरमासँगै डेरा गरि बस्दै आएका दुवै जनाबीच पटक–पटक समान्य कुरामा झगडा हुँदै आएको स्थानीयले बताएका छन् ।

आज बिहान पनि रन्जितको कोठामा अरबिन्दले झ्यालबाट लुकेर हेरि रहेको देखेपछि दुवैबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि घटना भएको पर्साका प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

विवादको क्रममा अरबिन्दले उनीहरुमाथि छुरा प्रहार गरेर फरार रहेको प्रहरी नायव उपरीक्षक शर्माले बताए । फरार रहेका अरबिन्दको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ ।