बीमा रकमको लोभमा बाबुले गरे आफ्नै छोरीको हत्या

पैसाको लोभमा एक बाबुले आफ्नै छोरीको हतया गरेका छन् । बीमा कम्पनीबाट पाउने पैसाको लोभमा रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरीको हत्या गरेका हुन् ।

असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मी कुमारी यादवको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा राम किशोरको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

यादवले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा १९ जेठमा मात्र छोरीको २५ लाखको जीवन बीमा गराएका रहेछन् । हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप नै छोरीको बीमा गराएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको यादवले स्वीकारेका छन् । बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेकाले यसो गरेको उनको बयान छ

यसरी गरिएकाे रहेछ हत्या

१७ गते बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय, मौलापुरमा घरमा आमासंग सुतिरहेकी चार वर्षीय बालिका बेपत्ता भएको खबर आयो।

करिब ४:२० बजे मौलापुरबाट प्रहरी निरीक्षकसहितको टोली घर पुगेर सोधपुछ गर्दा लक्ष्मी खाना खाएर राति करिब १० बजे आमा लीलादेवीसँग सुतेको खुल्न गयाे । तर, बिहान १:३० बजे ब्युझिँदा लीलादेवीले छोरी भेटिनन् । यताउता खोजी गर्दा पनि छोरी फेला परिनन् ।

करिब ५:३० बजे स्थानीय बालकालिका शौच गर्न जाने क्रममा फगुनी राय यादवको माछापोखरीमा बच्चाको लाश पानीमा तैरिरहेको देखे। प्रहरी टोलीले पुगेर हेर्दा हराइरहेकी बालिकाको शव भेटियो ।

प्रहरीले शवको मुचुल्का उठायो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल, लाश जाँच मुचुल्कासहितको काम सकेर पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा पठायो ।

‘घटना शंकास्पद र रहस्यमय देखिएको हुँदा सोही दिन १७ गते नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नवीन कार्कीको संयोजकत्वमा दुई प्रहरी निरीक्षकसहित सात सदस्यीय अनुसन्धान टोली गठन गरियो,’ खत्रीले भने, ‘अनुसन्धान गर्ने क्रममा जेठ १९ गते मृतक बालिकाको २५ लाखको जीवन बीमा गरेको खुल्यो।’

अनुसन्धान सिलसिलामा मृतकको बाबु नै शंकास्पद देखिएपछि यादवलाई १८ गते साँझ ५ बजे गौरबाट पक्राउ गरिएको थियो । सोधपुछ र केरकार गर्दा उनले छोरीको हत्या गरी पोखरीमा फालेको स्वीकार गरेका थिए ।

‘निदाइरहेकी छोरीलाई करिब १:३० बजे आफैंले काँधमा बोकेर पोखरीको डिलसम्म पुर्‍याएको र त्यहीँ नाक, मुख थुनी हत्या गरेपश्चात पोखरीमा फालेको बताएका छन्,’ यादवको बयान उद्धृत गर्दै एसपी खत्रीले भने ।

खत्रीका अनुसार रकमको लोभकै कारण हत्या नै गर्ने योजना बनाएको देखिएको छ । यादव सुरुमा ३० लाखको बीमा गराउन चाहन्थे । तर, बीमा कम्पनीले ३० लाखको बीमा गर्न आमा वा बाबुमध्ये एक जनाको ३० लाखकै बीमा हुनुपर्ने बताएछि अर्को दिन २५ लाखको बीमा गराएको खुलेको खत्रीले बताए।

यादव द्वन्द्वकालमा नेकपा माओवादीमा सक्रिय रुपमा लागी भूमिगत भएका थिए । २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा तीन वर्ष जेल सजाय भुक्तान गरिसकेका थिए ।