सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावमा कडा आपत्ति जनाएका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले ज्येष्ठलाई नभई योग्य सचिवलाई मुख्य सचिव बनाउन सरकारलाई सचेत गराएका छन् ।
शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिंदै उनले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने आफ्नो अडान पनि दोहोर्याएका हुन् ।
ज्येष्ठ सचिवलाई नै मुख्य सचिव बनाउन बाध्य पार्ने कानुनी व्यवस्था आफूलाई मान्य नहुने पनि उनले स्पष्ट पारेका छन् । नेता शर्माले भने, ‘ज्येष्ठ सचिव सक्षम नहुन पनि सक्छ, उसैलाई मुख्य सचिव बनाउने कानुनी प्रावधान स्वीकार्न सकिंदैन ।’




