सांसद रंगमती शाहीको प्रस्ताव : प्रधानमन्त्रीज्यू, आउनुस् मेरो स्कुटी पछाडि बस्नुस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटरको पछाडी बसेर काठमाडौं सहर घुम्न प्रस्ताव गरेकी छन्।   

बिहीबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद शाहीले  कालो सिसा भएको गाडी चढ्ने प्रधानमन्त्रीले राजधानीको धुलो नदेखेको भन्दै व्यङ्ग गरिन्।

‘आफू एसिवाला गाडीमा बस्ने, कालो सिसाले थुन्ने’, शाहीले भनिन्, ‘अनि सिसाबाट के देखिन्छ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार आफू नेतृत्वको सरकार बनेको एक वर्षमा ‘काठमाडौंमा मास्क लगाउने मान्छे घटेको’ बताएका थिए।

त्यसको जवाफमा सांसद शाहीले स्कुटरको पछाडि बसेर सहर घुम्न चुनौती दिएकी हुन्।  उनले भनिन्- प्रधानमन्त्रीज्यू, आउनुहोस् मेरो स्कुटीमा बसेर बनस्थली जाऔं।

शाहीले गत फागुनदेखि स्कुटी चलाउँदै आएकी छिन्।

‘म जहिले स्कुटी चढ्दा पनि मास्क लगाउनुपर्ने बाध्यता छ,’ शाहीले सेतोपाटीसँग टेलिफोनमा भनिन्, ‘मान्छेहरूले राजधानीको दुरावस्थाका लागि नेताहरूलाई दोष लगाउँछन्। हामी लोगो छोपर हिँड्नुपर्छ।’

उनले प्रधानमन्त्री ओलीलाई आफ्नो स्कुटी पछाडी बसेर मास्क लगाउनु पर्ने/नपर्ने अवस्था निर्क्यौल गर्न समेत सुझाइन्।

प्रतिनिधि सभाको विकास समितिमा बिहिबार यातायात मन्त्रालयको विषयमा छलफल थियो। प्रतिपक्षी सांसद शाहीले प्रधानमन्त्रीले उद्घाटन गरेका दुई विद्युतीय गाडी कता पुगे भन्दै प्रश्न उठाइन्।

गत वर्ष कात्तिक ६ गते साझाले ल्याएको विद्युतीय बसमा चढेर प्रधानमन्त्री ओली सिंहदरबार गएका थिए। तर ती गाडी अहिले सञ्चालनमा आएका छैनन्।

‘मैले यातायात मन्त्रीलाई ती गाडी कता पुगे भनेर सोधें,’ शाहीले सेतोपाटीसँग भनिन्, ‘मन्त्रालयलाई थाहा छैन भन्ने जवाफ आयो।’

यातायात मन्त्रालयले समितिमा तीन सय नयाँ विद्युतीय बस ल्याउन लागेको विषयमा जानकारी गराएको थियो। शाहीले भने तयारी नपुगेको भन्दै सरकारसँग जवाफ माग गरिन्।

‘बस दैनिक ८ देखि १२ घन्टा चार्ज गर्नुपर्ने रहेछ,’ शाहीले भनिन्, ‘कतिबेला गुड्छन्, कहाँ चार्ज गरिन्छ।’

उनले राजधानीमा २० देखि ३० बस एक ठाउँमा राखेर चार्ज गर्ने अभाव रहेको उल्लेख गरिन्।

‘चार्जिङ स्टेशन छैनन्,’ शाहीले भनिन्, ‘योजना नभई बसमात्र किनेर हुन्छ?’

उनले सरकारलाई दश वर्षमा ब्याट्रीहरू पूरानो हुने भएकाले त्यसको डिस्पोज वा रिसाइकल के गर्ने भन्ने टुंगोसमेत अहिले नै लगाउन सुझाइन्।–सेतोपाटी