मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले आज एक कार्यक्रमबीच उनलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि उनले आफू राजनीति परीक्षा दिए जस्तो सजिलो नभएको बताएका छन् । उनले आफू समाजको सेवा गर्नका लागि राजनीतिमा आएको बताउँदै भने, ‘सरकारले दिने ४५ हजारले त मलाई चिया खान पनि पुग्दैन ।’
कुनै लोभले भन्दा पनि नेकपाले देशको लागि केही राम्रो गर्छ भनेर नेकपामा प्रवेश गरेको उनले बताएका छन् । अबको ५ वर्षसम्म राजनीतिलाई केन्द्रमा राखेर समाजसेवाको बाटोमा अघि बढ्ने उनले सुनाए ।
कमल थापा नेतृत्वको राप्रपा हुँदै अहिले सत्तारुढ नेकपामा आइपुगेका मनाङ पार्टी प्रवेश लगतै कांग्रेस पार्टीप्रति खरो टिप्पणी गरेका छन् । उनले नेपाली कांग्रेस स्पष्ट विचारधारा नै नभएको पार्टी भएको आरोप लगाए ।
आफू नेकपामा प्रवेश गरि सकेपछि सकभर आफ्ना कांग्रेस साथीहरुलाई पनि नेकपामा ल्याउने उनले बताए । तत्कालीन माओवादी अथवा एमाले भन्दा पनि कम्युनिष्ट भएकाले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको उनले बताएका छन् । ‘मलाई लाग्छ नेकपा नै नेपालकै पार्टी हो,’ उनले भने, ‘त्यसैले नेकपामा छिरेको हुँ ।’
अपराधिक गतिविधिमा संलग्न समूहको नाइकेको रुपमा चिनिने गुरुङ चुनावमा विजयी भई सकेपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानै मुद्दाको क्रममा पक्राउ परेका थिए । साढे आठ महिना उनी कारागार बसे ।
अदालतको आदेशमा पुस ६ गते थुनामुक्त भएका उनले १२ पुसमा सपथ लिन पाउँ भनि गण्डकी प्रदेश सभामा निवेदन दिएका थिए । २०७५ माघ १४ मा गण्डकी प्रदेश सभा सदस्यको सपथ लिएका उनी नेकपाकै सहयोगमा चुनाव जितेका थिए ।






