गण्डकी प्रदेशमा हालै मात्र आएका प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जनता र प्रहरी बीचको समन्वयात्मक भूमिकाबाट मात्रै समाजलाई अपराध मुक्त बनाउन सकिने बताएका छन् ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले अब समुदाय र प्रहरी हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
साथै नागरिकको सहयोग विना प्रहरी एक्लै समाजमा सफल हुन नसक्ने भन्दै उनले समाजसंग हातेमालो गर्दै अघि बढ्न प्रहरी प्रतिवद्ध रहेको उनले स्पष्ट पारे ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष एवं प्रतिनिधिले प्रहरी नायव महानिरीक्षक घिमिरेलाई सफल कार्यकालको शुभकामना सहित पुष्प-गुच्छाले स्वागत गरेका थिए ।

सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष विष्णुबहादुर भट्टराई, संस्थापक अध्यक्ष मंगल नेपाली, सल्लाहकार सीता गुरुङ र सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारी लगायतले कार्यक्रममा बोलेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की, विशेष अतिथि रहनु भएको कार्यक्रममा कास्कीजिल्लाका क्रियाशिल सामुदायिक प्रहरी सेवा केन्द्रहरू पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारी, बैदामका अध्यक्ष मिना भट्टराई, बगरका अध्यक्ष मनपति भण्डारी, माटेपानीका उपाध्यक्ष बलबहादुर कार्की, लेखनाथका अध्यक्ष रमेश ओझा र हेमजाका अध्यक्ष विष्णु बाँस्तोला सहभागी थिए ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बोधराज कार्कीले स्वागत महासचिव उत्तम जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।





