बोल्दाबोल्दै यसरी भक्कानिए प्रचण्ड, अरुलाई पनि रुवाए

- छोराको जन्मजयन्ती अवसरमा आयोजित समारोहमा प्रचण्डले भने, ‘प्रकाशले कम उमेरमै पूर्ण जीवन बिताए’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. प्रकाश दाहाल छोटो समयमा पूर्ण जीवन बिताएर जाने एक कुशल योद्धा र व्यवस्थापक भएको बताएका छन् ।

प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रकाश एक असल सिपाही रहेको र एक होनाहार सिपाई गुमाउनुको पीडालाई शक्तिमा बदल्ने प्रयत्न भईरहेको बताएका हुन् ।

यति बोल्दा बोल्दै प्रचण्ड बोल्नै नसक्ने गरी भक्कानिएका थिए । उनको गला पूरै अवरुद्ध भएको थियो । उनी विस्तारै सम्हालिंदै पुनः बोल्न शुरु गरेका थिए । उनी बोल्दै गर्दै नेकपा नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतका अन्य नेताहरूले पनि रुमाल झिकेर आँशु पुछेका थिए । दर्शक दिर्घामा रहेको नेता कार्यकर्ता पनि प्रचण्ड भक्कानिंदा भावुक बनेका थिए ।

अध्यक्ष प्रचण्डले राष्ट्र र जनताका लागि छोटो समयमा रचनात्मक काम गरेका प्रकाशको मृत्युले मुलुकलाई स्तब्ध पारेको बताए । ३६ वर्षको छोटो उमेरमा निधन भएका प्रकाशले सोचेको सपनालाई मूर्त रुप दिन प्रतिष्ठान अग्रसर हुनुपर्ने दाहालको भनाइ थियो ।

‘भूमिगत रुपमा विभिन्न स्कुलहरु परिवर्तन गरेर पढे । युद्ध हेर्ने, सिक्ने र आफैँ सहभागी हुने काम पनि गरे, ३६ वर्षको उमेर सम्ममा जीवनका तिता मिठा अनुभव गरे,’ दाहालले भावुक हुँदै भने, ‘एउटा पूरा जीवन हुन जसरी सबै काम गर्नुपर्छ, त्यो सबै अनुभव प्रकाशले पूरा गरेका छन् ।’

‘मैले शुरुमा प्रकाशले सगरमाथा आरोहण गर्छु भन्दा पत्याएको थिइन तर उनको गर्छु भनेपछि गरिछाड्ने बानी थियो, उनले अरुलाई पनि उत्साह र प्रेरणा दिने गर्थे । उनका राम्रा गुण र पक्षलाई देश र जनताको लागि समर्पित गर्नुपर्छ,’ अध्यक्ष दाहालले भने ।’

‘सबै तितामिठा अनुभव प्रकाशले अनुभव गरे । राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि’, प्रचण्डले भावुक हुँदै आफु प्रधानमन्त्री हुँदा उनले गरेको सहयोग अविस्मरणीय भएको बताए ।

स्व. प्रकाश दाहाल

कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सामान्य काम सबैले गर्ने भन्दै विशेष काम थोरैले मात्र गर्ने र त्यसमध्ये एक प्रकाश दाहाल भएको बताए ।  ‘प्रकाश दाहालको जीवनका पाटाबारे सबैलाई थाहा नहुन सक्छ । प्रकाशले अनुपम काम गरेका थिए, कदर गर्नु आवश्यक छ,’ नेता नेपालले भने, ‘सगरमाथा चढेर सफलता हासिल कठिन काम थियो, योद्धालाई पनि साथमा लिएर सगरमाथा चढ्नु गाह्रो काम थियो ।’

नेता नेपालले भने, ‘प्रकाश दाहालको अभावमा प्रचण्डको दाहिने हात नै भाँचिएको जस्तो भएको छ । पार्टी सञ्चालनदेखि सरकार सञ्चालनमा पनि प्रकाशको अभाव भइरहेको भन्दै उनले प्रकाशमा बन्दुक चलाउन मात्रै नभई प्रविधिमा पनि अपडेट हुने खुवी रहेको औंल्याए। उनले प्रकाशले सगरमाथामा नेपालको झण्डा पु-याएर नेपालको सान र मान राख्ने काम गरेको बताए ।

कार्यक्रममा काँग्रेस नेता डा. प्रकाश शरण महतले प्रकाश दाहालले शान्ति प्रक्रियापछि विभिन्न राजनीतिक दल र तत्कालिन माओवादी केन्द्रबीच पुलको रुपमा काम गरेको सम्झिए । उनले सानै उमेरमा निधन भएका प्रकाशले छोटै समयमा भएपनि मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु-याएको चर्चा गरे।

त्यस्तै राजपाका नेता महेन्द्र यादवले प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताए । (तस्वीर : नेपालदूत फाइल)