ओली-प्रचण्डबीच बालुवाटार भेटवार्ता,कार्यविभाजनमा छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधवार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीको कार्ययोजनाका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । राजनीतिक कार्यदिशाको भाषा हेर्ने र कार्यविभाजनका विषयमा दुई अध्यक्षबीच छलफल भएको स्रोतको दावी छ ।

प्रधानमन्त्री समेत रहेका ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएकाले लामो छलफल नभएको र भोली फेरी कुराकानी गर्नेगरी दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ ।असार महिनाभित्र पार्टी एकताका बाँकी काम पुरा गर्नेगरी दुई अध्यक्षले छलफल गरिरहेका छन् ।

ओली र प्रचण्डले असार महिनाभित्र पार्टी एकताका बाँकी काम टुंगो लगाउने सार्वजनिक घोषणा गरिसकेका छन् । कार्यदिशाका विषयमा सामान्य भाषा सम्पादन गरेर तल्लो तहसम्म लैजाने विषयमा भने सहमति भैसकेको स्रोतको दावी छ ।