बर्दियाको गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ ।
बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई रु पाँच लाख जरिवाना तिराएको हो ।
जिल्ला अदालतले उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो । तर बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा रु पाँच लाख जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ ।
फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानूनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको थियो ।
वन्यजन्तु मारेको र अङ्ग ओसारपसारमा संलग्न अभियुक्तलाई रु पाँचदेखि १५ लाखसम्म जरिवाना हुने कानूनी प्रावधान छ ।






