आइतबारदेखि अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय आजदेखि खुलेका छन ।
गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका तालाहरु खोलेर पठनपाठन सुचारु गरिएका हुन् ।
विद्यालयमा तालाबन्द गरी विद्यार्थीहरुको पढाइमा अवरोध नगर्न अध्यक्ष रावल र शिक्षा विभाग प्रमुख शर्माको आग्रहलाई शिक्षकहरुले स्वीकार गर्दै विद्यालय खोलिएको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए ।
तलब नपाएको भन्दै २२ वटै विद्यालयका निजी शिक्षकहरुले तालाबन्दी गरेका थिए । त्रिसठ्ठी शिक्षकले हालसम्म तलब नपाएको गुनासो गरेका छन् ।




