विस्तारै लोप भएर जादैछ कुमाल पेशा

दाङमा कुमालहरुको पहिचान बोकेको माटाका भाँडा बनाउने पेशा लोप हुनथालेको प्रति कुमाल समुदाय चिन्तित बनेका छन् ।

पुर्खाले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको हो ।

अगुवा प्रेम कुमालका अनुसार दाङको प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ ।

युवाहरुलाई माटोका भाँडा बनाउने पेशाप्रति आकर्षित गराउन विभिन्न तालीम प्रदान गर्ने गरिएको भए पनि सिकेको कुरा व्यवहारमा नउतार्दा पेशा नै सङ्कटमा पर्ने खतरा रहेको अर्का थारू अगुवा महादेव कुमालले बताए । दाङको तुलसीपुर–७ प्रसेनीमा करीब ३०० कुमाल समुदायको बसोबास छ । ती कुमाल समुदायले पुर्खादेखि नै माटोका भाँडा बनाउने पेशा अँगाल्दै आएका थिए ।

अब युवालाई माटोका भाँडा निर्माण गर्नेतर्फ प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा कुमाल युवा दीपक कुमालले बताए ।