उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिनाथ कोइराला सोमबार सम्मानित भएका छन् । रोटरी क्लब अफ पोखरा लेकसाइडको ४ औं पदस्थापना समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उनलाई सर्वाेत्कृष्ट सामाजिक अभियन्ताको रुपमा सम्मान गरेका हुन् ।
मन्त्री गुरुङले उपभोक्ताको अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले सेवा र वस्तु किन्नुअघि सचेत हुन उपभोक्तालाई आग्रह गरे । उनले भने, ‘उपभोक्ता सचेत नभई सरकारी प्रयासले मात्र उपभोक्ता अधिकार स्थापित हुन सक्दैन ।’ उनले रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरामा स्थापना गर्न लागेको मृगौला उपचार केन्द्रलाई प्रदेश सरकारले सघाउने प्रतिवद्धतासमेत गरे । केन्द्रका लागि क्लबले समिति गठन गरी काम अघि बढाइसकेको छ ।
सम्मान समिति संयोजक ई. राजेन्द्र लिगलले बजारलाई स्वस्थ र प्रतिपश्पर्धी बनाउन २ दशकदेखि क्रियाशील अभियन्तालाई सम्मान गरिएको बताए । सम्मानित कोइरालाले संगठित नहुने उपभोक्ता र संगठित वस्तु तथा सेवा प्रदायकसँगसँगै अनुगमन र बजार स्वस्थ बनाउन काम गर्नुपर्दा आलोचना पनि सहनुपरेको बताए । उनले भने, ‘राम्रो काम गरे सम्मान हुँदो रहेछ भन्ने प्रमाणित भयो ।’
समारोहबाट घराना थकालीले वर्ष १९/२० को अध्यक्ष पद सम्हालिन् । क्लबको निवर्तमान अध्यक्षमा जयराम पौडेल, इलेक्ट अध्यक्षमा अर्जुन खनाल, उपाध्यक्षमा पम्फा गुरुङ, सचिवमा दिलेश्वर दाहाल, कोषाध्यक्षमा सरस्वती लिगल, सहसचिवमा टोपबहादुर थापा, सहकोषाध्यक्षमा डम्बरकुमारी गुरुङ, निर्देशकहरुमा योगेन्द्र शर्मा दाहाल, होम आले, शुक्रराज सुवेदी, शोभाकान्त सिग्देल र रोहितराज बाँस्तोला छन् । सर्जेन्ट एट आम्समा कृष्णबहादुर थापा छन् ।
कार्यक्रममा पोखरा ७ क वडाध्यक्ष रामचन्द्र बराल, डा. क्लारा पौडेल र रोटरी फिस्टेलका पूर्व अध्यक्ष अर्जुन थापाले पनि बोलेका थिए । कार्यक्रममा वर्ष १८÷१९ का अध्यक्ष जयराम पौडेलले वर्षभरि भएका गतिविधि प्रस्तुत गरेका थिए ।






