हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन् ।
चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो ।
भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसान अब यसपटक पनि एक साताभित्र मिलबाट भुक्तानी शुरु नभए राजमार्ग अवरुद्ध गरिने समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए। यस आर्थिक वर्षमा पश्चिम नवलपरासीमा सञ्चालनमा आएका तीन ठूला चिनी मिलले करीब रु ७० करोड बराबर किसानसँग उधारोमा उखु खरीद गरेको देखिन्छ ।
मिललाई किसानले उधारोमा उखु दिन बाध्य भएको तर उखु ‘क्रसिङ सिजन’ बितेको दुई महीना भइसक्दा पनि मिलले अझै किसानलाई भुक्तानी नदिएको समितिको निष्कर्ष छ । त्यस्तै चालू आर्थिक वर्षमा मिलहरूले उखु क्रसिङ डेढ महीना ढिला शुरू गरी वैशाख मसान्तमा क्रसिङ बन्द गरेकाले करीब रु पाँच करोड बराबरको करीब एक लाख क्विन्टल उखु खेतमै नोक्सानी बेहोर्न बाध्य भएको समितिले बताएको छ ।






