म तारा बनें नि आमा !

जब ताते गर्न थालें,
खुसी दौडियो आमाको अनुहारभरि ।
अनि भन्नुभयो ‘तिमी नै हौ भविष्यको तारा ।’

जब स्कुलमा भर्ना भएँ,
गमक्क हुँदै छाती तन्काउनुभयो कक्षा शिक्षकले ।
अनि भन्नुभयो ‘तिमी नै हौ भविष्यको चम्किलो तारा ।’

कक्षा १० उत्तीर्ण भएपछि, जुँगा मुसार्नुभयो ।
हाइस्कुलका हेडसरले अनि भन्नुभयो,
‘तिमी साँच्चैको भविष्यको सुनौलो तारा ।’
यही प्रेरणाले गन्न मन लाग्यो तारा,
बन्न मन लाग्यो तारा

जब विश्वविद्यालय घुसे ।
घामलाई पृथ्वीले घुम्नुको कारण बुझें ।
पृथ्वीलाई जुनले घुम्नुको कारण थाह पाएँ ।
थाह पाउन थाले चम्कने ताराहरुको बाध्यता ।

आमाले भविष्यको घाम भन्नुभएको भए,
कक्षा शिक्षकले भविष्यको चम्किलो पृथ्वी भन्नुभएको भए,
हाइस्कुलको हेडसरले भविष्यको सुनौलो जुन भन्नुभएको भए,
कि घाम, कि पृथ्वी, कि त जुनजस्तै बन्ने कोसिसमा हुन्थे हुँला ।

घाम जति नै निरंकुश भए पनि,
पृथ्वी जति नै टथस्त भए पनि,
जुन जति नै लोकतान्त्रिक भए पनि,
म सबैको अगाडि चमचम चम्कने तारा बनें ।
घाम सत्तापक्ष जस्तो,
जुन प्रतिपक्ष जस्तो,
पृथ्वी सभामुख जस्तो
तारा चाहि आम जनता जस्तो
हो त्यही तारा बनें नि आमा

म त घाम रन्किँदा पनि
म चमचम गरिरहेकौ हुन्छु
तर दुनियाँलाई
बाल जुन टल्किँदा पनि
चमचम गरिरहेका हुन्छु
तपाईले भन्नुभएको थियो नि
भविष्यको तारा हो
त्यही तारा बनें नि आमा म त
त्यही सत्ताले वास्तै नगर्ने
तारा त्यही प्रतिपक्षले
प्रयोग गर्न खोज्ने तारा
पृथ्वीले वास्तै नगर्ने तारा
कहिलेकही त लाग्छ तारासँगै जुधेर
झरौ धर्तीतिर तर
धर्तीमा पनि हामी जस्तोको
ठाउँ नै कहाँ छ र ?
त्यसैले
केवल ब्ल्याक होलहरुले
कहिले आक्रमण गर्ने हो ?
त्यही दिन कुरिरहेको छु आमा

असार १४, २०७६