कहिले सकिन्छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण ?

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ को काम सकिएको छ । अरु पूर्वाधार निर्माणको काम पनि द्रूतगतिमा भइरहेका छन् । द्रूतगतिमा काम भइरहेको आयोजनाको नामले पनि चिनिन्छ यो आयोजना ।

आयोजनाका वरिष्ठ इन्जिनियर कृष्ण पौडेलका अनुसार विमानस्थलको ४० प्रतिशत काम सकिइसकेको छ । तोकिएको समयअघि नै निर्माणको काम सकेर जहाज उडानमा ल्याउने आयोजनाको लक्ष्य छ । त्यहीअनुसार काम पनि भइरहेको छ । कुनै अवरोध नआए निर्धारित मिति भन्दा ६ महिना अघि नै आयोजना सक्ने समेत आयोजनाको दाबी छ ।

तर, निर्माणको १ चौथाई काम सकिँदा समेत विमानस्थल आयोजनाका लागि जग्गा अधिग्रहण गर्ने काम नै सकिएको छैन ।

विमानस्थलका आयोजना प्रमुख बिनेस मुनाकर्मीका अनुसार सन् २०२१ मा विमानस्थल सञ्चालनमा ल्याउनका लागि अझै करिब १ सय रोपनी जग्गाको खाँचो छ । ‘सन् २०२१ मा विमानस्थल सञ्चालनका लागि अझै हामीलाई सय रोपनी जग्गाको खाँचो छ,’ उनले भने ।

विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्नका लागि अरु पूर्वाधार पनि थप गर्दै लैजानुपर्ने उनको भनाई छ । त्यसको लागि झन्डै ४ सय रोपनी जग्गा नै आवश्यक पर्ने उनले सुनाए ।

‘दिगो रुपमा विमानस्थल सञ्चालनका लागि अन्य पूर्वाधार पनि थप्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि करिब ४ सय रोपनी जग्गाको खाँचो हुने देखिन्छ ।’ निर्माणको ठेक्का पाइएको चाइनिज ठेकेदार कम्पनी सिइएमसीइका अनुसार तोकिएको समयअघि नै निर्माण कार्य सकेर आयोजनालाई बुझाउने लक्ष्यका साथ काम भइरहेको बताएको छ ।

विमानस्थलको दक्षिण पट्टीको भागमा अधिग्रहण गर्नु पर्नेहुन्छ । जग्गा अधिग्रहणको विषयलाई लिएर सडक र सदन पनि नतातेको होइन् । तर, जग्गा अधिग्रहणको लागि स्पष्ट निर्णय अझै पनि नेपाल सरकारबाट नआएको आयोजना प्रमुख मुनाकर्मीले जानकारी दिए ।

‘यति जग्गाको खाँचो छ, अधिग्रहण गरिनुपर्छ भनेर हामीले क्यान अफिसमा पठाइसकेका छौं,’ उनले भने, ‘यस विषयमा हामीले भन्दा पनि मन्त्रिपरिषद्, नेपाल सरकारले निर्णय गर्ने हो । त्यसको लागि अझै पनि स्पष्ट निर्णय अझै आई सकेको छैन ।’

रातोपाटीमा उल्लेख भएअनुसार जग्गा अधिग्रहण गर्दा बस्ति नै हटाउनुपर्ने हुन्छ । बस्ति नै हटाउनुपर्ने भएकाले आयोजनालाई चुनौती थपिएको हो । ३ वटा अन्तर्राष्ट्रिय र ८ वटा डोमेस्टिक विमान अट्ने विमानस्थलको एप्रोन ढलान र ढल निकासका लागि नाला निर्माण भइसकेको छ ।

२५ सय मिटरको रन वे, १२ सय मिटरको ट्याक्सी वे को काम सकि फाईनल ढलानको काम भई रहेको आयोजनाले जनाएको छ ।

टर्मिनल भवन लगायतका अन्य भवनको आरसिसी अन्तिम चरण्मा पुगि सकेको छ । चिनियाँ ठेकेदार कम्पनी चाईना सिएएमसी इन्जिनियरिङले जानकारी दिएको छ । अहिले ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थलको निर्माण भइरहेको छ ।

विमानस्थलको नयाँ पूर्वाधार थप गर्दै जाँदा थप ४ सय रोपनी आवश्यक पर्ने आयोजनाले बताएको छ । तर, अहिले थप जग्गा अधिग्रहणको लागि काम अघि बढेको छैन । ठेक्का सम्झौता अनुसार निर्माण गर्नुपर्ने संरचनाको लागि तत्काल १ सय २० रोपनी अधिग्रहण गनुपर्ने हुन्छ । तर अधिग्रहणको लागि मन्त्रालय स्तरबाट निर्णय हुन सकेको छैन ।

विमानस्थलको ग्लाईपथ, एप्रोजलाइट, इन्धन डिपो, हेलिप्याड, हेंगर, सेक्युरिटी क्याम्प लगायतका संरचनाका लागि थप जग्गा अधिग्ररण गनुपर्ने आयोजनाले जनाएको छ ।दैनिक ४ सय नेपाली र २ सय चाइनिज कामदारले काम गरिरहेका छन् ।

थप जग्गा अधिग्रहण गर्दा पनि विमानस्थलमा ठूला जहाजले भने उडान भर्न सक्दैनन् । २ सय सिट क्षमता भएका विमानले मात्र उडान भर्न सक्नेछन् । ठूला सिट क्षमता भएका जहाजले उडान भर्न वरिपरीको भुगोल पनि बाधक बन्ने आयोजनाले जनाएको छ । जसका कारण केही डाँडा काट्ने काम पनि प्रारम्भ भएको बताइन्छ ।