विरौटामा खुल्यो स्याडोज ब्युटी पार्लर टेनिङ सेण्टर

पोखराको ड्यामसाइडमा रहेको स्याडोज ब्युटी पार्लर एन्ड टेनिङ सेण्टरले पोखरा १७ विरौटाको सेलवेजमा शाखा खोलेको छ । शाखा सोमबार आयोजित समारोहमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सुरुआत गरिन् ।

उपप्रमुख गुरुङले शारीरिक सुन्दरताले मानसिक आत्मबल र सुन्दरता पनि झल्काउने बताइन् । सञ्चालकले एक दशकभन्दा बढीको सीप, दक्षता, अनुभवले टे«ेनिङ सेन्टरसहित ब्युटी पार्लर सञ्चालन गरेकाले यसले नेपालीलाई आत्मनिर्भर बनाउँदै उद्यमी बनाउन योगदान गर्ने उनले अपेक्षा गरिन् ।

उनले महिला सशक्तीकरणलाई पोखरा महानगरले फरक तवरले सञ्चालन गर्ने योजना सुनाइन् । आर्थिक रुपमा सबल र सक्षम बनाएमात्रै महिला आत्मनिर्भर हुन सक्नेमा जोड दिँदै उनले अब महिला हिंसा अन्त्यसँग पुरुष, महिला दुवैलाई सँगसँगै सचेतना दिने बताइन् । उनले भनिन्, ‘त्यसो भयो भने मात्र हाम्रो अभियानले सार्थकता पाउने देखियो ।’

पोखरा महानगरले महिलालाई उद्यमी, आत्मनिर्भ र सक्षम बनाउन विभिन्न योजना सञ्चालन गरिरहेको छ । एकल, अपांगता भएका, विपन्न र हिंसा पीडित महिलालाई महानगरले प्राथमिकता दिएको छ । महागरले उपमेयरसँग महिला कार्यक्रममार्फत विभिन्न योजना अघि सारेको छ ।

पोखरा वडा नम्वर १७ का अध्यक्ष तीर्थराज अधिकारीले तालिम, सीपबिना आत्मनिर्भरता, उद्योग, व्यवसाय सम्भव नहुने भएकाले तालिम केन्द्रहरु प्रशस्त खुल्नुपर्नेमा जोड दिए । महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले महानगरवासीलाई सीप सिकाएर आत्मनिर्भर र उद्यमी बनाउने महानगरको योजनामा यस्ता तालिम केन्द्रले योगदान गर्ने अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङ, ब्युटी पार्लर एसोसियसन गण्डकी अध्यक्ष कल्पना कोइराला, पत्रकार सुष्मा पौडेल, ब्युटी पार्लर एसोसिएसन कास्की अध्यक्ष सुनिता बस्नेत, पार्लरका सञ्चालक पदम ढकाल लगायतले बोलेका थिए ।

पार्लरका प्रोपाइटर छायाँ ढकालले अहिलेसम्म यो शाखामा ३२ लाख लगानी भएको बताइन् । उनले व्यवसाय विस्तार र प्रशिक्षार्थीको माग र आवश्यकता बमोजिम लगानी, प्रविधि र जनशक्ति थप्दै नागरिकलाई उद्यमी र स्वावलम्बी बनाउन लाग्ने प्रण गरिन् । कार्यक्रम सञ्चालन सान्तोषी सुनारले गरेकी थिइन् ।