२७ सिट क्षमताको बसले ५५ जना बोकेपछि दुर्घटना: ३५ जनाको मृत्यु

भारत प्रशासित कश्मीरमा एउटा मिनीबस अनियन्त्रित भएर खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको छ भने १७ जना घाइते रहेका छन् ।

जम्मूका आइजीपी एमके सिन्हाका अनुसार २७ जना यात्रु बोक्ने क्षमता रहेको बसमा करीब ५५ यात्रु सवार थिए ,उक्त बस सिर्गवाडी क्षेत्रमा सडकबाट करीब १५० मिटर तल खोल्सामा खसेको हो ।

दुर्घटनापछि उद्दार टोलीले घाइते यात्रुहरुलाई नजिकैको अस्पतालमा पुर्याएका थिए । उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यस्तै, १० जनालाई थप उपचारका लागि जम्मु पुर्याइएको छ ।

अध्याधिक यात्रु बोकेको बस दुर्घटना प्राविधिक कारणले भएको हो या ड्राइभरको कमजोरीले भएको भन्ने अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् ।