आफ्नै छोरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलासा भएको छ।
चाँगुनारायण वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको भक्तपुरमा आइतबार दिउँसो छोरी ईश्वरी भट्टराई र उनका प्रेमी सिरहाका मोहम्मद नासिदले घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको हो ।
हत्या अनुसन्धानमा जुटेको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ। हत्या हुनुको कारण छोरी उनका प्रेमी नासिदबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ। ‘छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रारम्भिक जानकारी छ,’ अपराध महाशाखा स्रोतले भन्यो।
प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए। हत्या गरी हेटौडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ। उनीहरु मोहम्मद रसिद र अरुण कुमार थिए । हत्यामा संलग्न छोरी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन्। सोही क्रममा नासिदसँग भेट भएको थियो। आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनायो।





