स्याङजाको वालिङमा भूकम्पबाट विस्थापित भएका दुई घर परिवारलाई लालपुर्जा प्रदान गरिएको छ ।
वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको हो ।
जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा रु दुई लाख दिन सक्ने प्रावधानअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत आर्थिक सहयोग गरिएको स्याङ्जाका कार्यालय प्रमुख प्रवीण ढकालले बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत प्राप्त भएको रु दुई(दुई लाख रकमबाट वडा कार्यालयको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी जग्गा खरीद गरी लालपुर्जा वितरण गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताए ।
स्थानीय कृष्णप्रसाद काफ्ले र यज्ञप्रसाद काफ्लेको गैह्रा भन्ने स्थानमा रहेको आठ आना जग्गा खरीद गरी मित्रलाल दमै र मनकुमारी दमैको परिवारलाई प्रदान गरिएको हो भने सोही वडाको राक्सेस्थित प्रेमप्रसाद रेग्मीसँग नौ आना जग्गा खरीद गरी सुनमती दमैको परिवारलाई प्रदान गरिएको वडाध्यक्ष लम्सालले बताए ।




