असार १५ को अवसरमा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो सार्वजनिक गरे ।
गोर्खास्थित खेतमा १ हल गोरु साउँदै र कोदाली समातेर बाउसे गर्दै गरेको तस्वीर फेसबुकमा ‘हो हो तारे हो हो, हो हो माले हो हो’ शीर्षकमा स्टाटस लेखेर सार्वजनिक गरेका हुन् ।
तस्वीरमा उनले साउँदै गरेको फोटो निकै आकर्षक देखिएको छ भने बाउसे गर्दा कोदाली समाउन नजानेको देखिन्छ ।
छत्रेटोपी र घुँडामुनिसम्मको हाफ पाइन्ट लगाएका उनी हली र बाउसे भएर रोपाइँमा सहभागी भएका हुन्।
उनका यस्ता तस्वीरहरू निकै धेरै शेयर भएको छ भने निकै धेरै कमेन्ट पनि आएका छन् । फेसबुकमा कमेन्टहरु सकारात्मक र नकारात्मक दुवै प्रकारका छन् ।

उनको फोटोमा कृष्ण सुवेदीको कमेन्ट छ, ‘गाउँतिरै बसेर खेती किसान गरे सुख हुन्छ । काठमाडौंको धुलो, धुँवा भन्दा तर मन मान्दैन गाउँ बस्न । सबै सहर छन् । गाऊँ फर्क अभियान सञ्चालन गर्नु पर्यो डा.साव, गाउँको खेतवारी सबै बाझो छ, युवायुवती सबै खाडीमा कहिलेसम्म यसरी मुलुक चल्ला ?’

यस्तै ईश्वर पोखरेलको कमेन्ट छ, ‘अरू कुनै माईकालाल छ बाबुराम जत्तिको भिजनरी र जनतासंग घुलमिल हुन सक्ने क्षमता ? अरूले त यहि मौका भन्दै महिलालाई छोप्ने छातितिर मुन्टो दल्ने संबेदनशिलता र पदीय दायित्वको ख्यालै नगरी मौकाको फाईदा लुटन नै तल्लिन हुन्छन् । हिजो पनि बाबुरामकै ऐजेन्डामा ले पार्टि चलेकै हो र आज पनि हिजै बाबुरामले भनेकै कुरामा देस चल्दैछ र आज पनि उनैले भनेकै कुरा सत्ताधारी नेताहरूले पछ्याउदै छन् एक बिद्वान भिजनरी नेतालाई नचिन्ने पो हामि नेपालि मुर्ख हौं त ।’






