ताजा समाचार

असार १५ गते २०७६

‘एक वडा, एक हेलिप्याड’ अन्तर्गत जिल्लामा ३३ हेलिप्याड निर्माण

हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएको छ ।

भौगोलिकरुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को अवस्थामा उद्धार तथा राहत कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले गत मंसिरदेखि हेलिप्याड बनाउने योजना अघि सारेको हो ।

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको भएको छ भने बाँकी १२ वटा वडामा पनि निर्माण प्रक्रिया शुरु भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

उनका अनुसार आठ महिनाको अवधिमा जिल्लाका ३३ वटा वडामा हेलिप्याड निर्माण गरिएको र आगामी दशैँसम्ममा सबै स्थानीय तहका सम्पूर्ण वडामा हेलिप्याड निर्माण भइसक्ने छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा स्थानीय तहले बजेट व्यवस्थापन गरेर हेलिप्याड बनाएका हुन् ।

नेपालमा नै पहिलोपटक म्याग्दीमा ‘एक वडा एक हेलिप्याड’ निमार्ण गर्ने अभियान सञ्चालन गरिएको थियो । सो अभियानअन्तर्गत अहिलेसम्म ३३ वटा वडामा हेलिप्याड बनाएको प्रजिअ अधिकारीले जानकारी दिए । सडक सुविधा नपुगेको र सडक अवरुद्ध भएको अवस्थामा तत्काल खोज, उद्धारका लागि विकल्पका रुपमा हेलिकप्टरको प्रयोग हुने गरेको छ ।